कार दुर्घटनामा एकै परिवारका ३ को मृत्यु, २ घाइते

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 १५:४०:०० मा प्रकाशित

अर्घाखाँची- सन्धिखर्कको नरपानीमा भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामाप परी दुई जना घाइते भएका छन्।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन्।

घटनामा रुपन्देहीको सैनामैना नगरपालिका-२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन्।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

कार सडकबाट करीब १५० मिटर तल खसेको छ।

ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ। रासस