चलचित्र महोत्सवमा प्रस्तुति दिन गोविन्दा वीरगञ्ज आउँदै, ‘थ्री इडियट्स’का सिनेमाटोग्राफर सिकेले प्रशिक्षण दिने

नेपाल लाइभ | २०७६ कार्तिक १८ सोमबार | Monday, November 04, 2019 १८:२३:०० मा प्रकाशित

काठमाडौं- आउँदो कार्तिक २१ गतेबाट वीरगन्जमा तीन दिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ आयोजना हुँदैछ।

महोत्सवको पहिलो दिन बलिउडका चर्चित अभिनेता गोविन्दासमेत आफ्नो प्रस्तुतिसहित सहभागी हुने भएका छन्। 

महोत्सव आयोजक चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार गोविन्दाले नेपाल आउने कार्यक्रम आफै तय गरेका हुन्।

उनी मंगलबार नै नेपाल अवतरण गर्ने तालिका रहेको उनले बताए। ‘उद्घाटनको दिन साँझ उहाँले प्रस्तुति दिने कार्यक्रम छ,’ निर्माता अधिकारीले भने। 

गोविन्दा नेपाल आउन लागेको यो पहिलोपल्ट भने होइन। गत वर्षमात्रै ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन उनी नेपाल आएका थिए।

उनकी श्रीमती सुनीता आहुजा नेपाली मूलकी भएकाले नेपाललाई उनी ‘ससुराली देश’ भन्दै प्रशंसा गर्ने गर्छन्।

त्यस्तै वीरगञ्जमा हुने यो महोत्सवमा सयभन्दा बढी नेपाली फिल्मकर्मी सहभागी हुँदैछन्। प्रदेश २ का जनतासँग नेपाली फिल्मको आत्मीयता बढाउन र त्यहाँ नेपाली फिल्मको बजार बढाउन महोत्सवले भूमिका खेल्ने निर्माता संघका अध्यक्ष आकाश अधिकारीको विश्वास छ।

महोत्सव उद्घाटन हुनुअघि बिहिबार कलाकारहरुको बाक्लो उपस्थितीका बिच विरगन्जमा प्रभात फेरी कार्यक्रम तय गरिएको छ। त्यसपछि दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महोत्सवको उद्घाटन गरिँदैछ। 

महोत्सवमा बलिउडका चर्चित सिनेमाटोग्राफर सिके मुरलिधरणसमेत आउँदैछन्। उनको क्यामेरा प्रशिक्षण कार्यक्रम समेत राखिएको निर्माता संघका अध्यक्ष अधिकारीले बताए। 

त्यस्तै अधिकारीका अनुसार महोत्सवमा आर्टभन्दा पनि कर्मसियल्ली हिट सिनेमाहरु प्रदर्शन गरिँदैछ।