म्याग्दीमा बस दुर्घटना, स्कुले विद्यार्थीसहित चारको मृत्यु, २६ घाइते

नेपाल लाइभ | २०७६ कार्तिक १८ सोमबार | Monday, November 04, 2019 १३:३१:०० मा प्रकाशित

काठमाडौं– म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी  २६ जना घाइते भएका छन्। दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको हो।

चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले बताए। 

मृत्यु भएकामध्ये मालिका गाउँपालिका ७ बिमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुसा जुग्जाली र अन्दाजी ८ वर्षीय रवी जुज्गालीको सनाखत भएको छ। एक महिलाको भने सनाखत हुन सकेको छैन। आयुषा किसानी माविको कक्षा ६ र रवी कक्षा ३ मा पढ्ने विद्यार्थी  हुन्।

२१ जना घाइतेको प्राथमिक उपचार केन्द्र दरवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पाँचजना घाइतेलाई थप उपचारका लागि बेनी अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए।

घाइतेहरुमा मालिका–७ बिमका ६० बर्षीय राजमान दर्जी, ५३ बर्षीय हुमबहादुर जुग्जाली, ३८ बर्षीय पलप्रसाद जुग्जाली, २६ वर्षीया नरदेवी परियार, २६ वर्षीय दिलु शेरपुञ्जा, ६ बर्षीया कृष्टिना जुग्जाली, ६१ वर्षीय तनदेवी जुग्जाली, ६० वर्षीय चन्द्रकली दर्जी, ३८ वर्षीय पलदेवी जुग्जाली रहेका छन्।

बिमकै १८ बर्षका सुरेश जुग्जाली, ३१ बर्षीया लीला जुग्जाली, धवलागिरी गाउँपालिका ३ दरकी १८ वर्षीया रिलमाया बुढा, बेनी नगरपालिका ३ भकिम्लीका ३५ बर्षीय केशव शर्मा न्युरे, मंगला गाउँपालिका ५ छिस्वाङका २२ बर्षीया रमिला खत्री, बेनी नगरपालिका ९ घतानका बिसन खत्री, बेनी ४ राक्सेका १७ वर्षीय गौरब पौडेल, १९ वर्षीय प्रमिस पौडेल र ताराखोला गाउँपालिका ५ का १७ बर्षीय बिजय कडेलको  घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुको उद्धारपछि दरवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (सांकेतिक फोटो)