काठमाडौं– लाओस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ लामा छन्। उनीहरुलाई गत शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भन्दै विश्वासमा पारी लाओस पठाइदिन्छु भनी २४ लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
सो रकम ठगी गरी लाओस र भारतको दिल्लीसम्म पुर्याई अलपत्र पारी सम्पर्कविहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनीमा फेला पारी पक्राउ गरेको हो।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।