तिहारमा ४३ जुवा अखडामा प्रहरी छापा :  तीन महिलासहित ४६५ पक्राउ, ३ करोड ३० लाख बरामद

नेपाल लाइभ | २०७६ कार्तिक १४ बिहीबार | Thursday, October 31, 2019 ११:१९:०० मा प्रकाशित

काठमाडौं– नेपाल प्रहरीले तिहारको अवसरमा देशभरका ४३ जुवा अखडामा छापा मारेको छ । सो क्रममा तीन महिलासहित ४ सय ६५ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चाडपर्वको अवसरमा हुने यस्ता जुवा अखडालाई मध्यनजर गर्दै प्रहरीले विशेष अपरेशन नै सञ्चालन नै गरेको थियो । यसक्रममा प्रहरीले ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको छ। हारजितका रुपमा खेलिन यसप्रकारका खेलहरु गैरकानूनी भएकाले प्रहरीले जुवा विरुद्ध अपरेशन चलाउँदै आएको छ। 

यसक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गत शनिबारमात्रै २ करोड ६७ लाखसहित २५ जुवाडेलाई पक्राउ गरेको थियो । यति ठूलो रकमसहित जुवाडे पक्राउ परेको यो पहिलो घटना हो।

त्यसैगरी हरेकवर्ष जुवाडेहरु पक्राउ पर्ने संख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७३०७४ मा प्रहरीले जुवा सम्बन्धी २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । त्यसबेला १ हजार ५ सय ४ जना जुवाडे पक्राउ परेका थिए भने १५ जना फरार भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४०७५ मा ३ सय ५९ मुद्दा दर्ता भएका थिए । सो क्रममा दुईहजार ८ सय २४ जना जुवाडेहरु पक्राउ परेका थिए भने ३२ जना फरार भएका थिए।

त्यस्तै गत आर्थिक वर्षमा प्रहरीले ३ सय ९१ वटा जुवाका मुद्दा दर्ता गरेर कारबाही गरेको छ। जसक्रममा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए। 

मुलुकी अपराध संहिता २०७४ लागू हुनुभन्दा पहिला जुवा ऐन अनुसार कारबाही हुने व्यवस्था थियो । गत वर्षदेखि अपराध संहिता लागू भएसँगै संहिताको परिच्छेद –५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा कारबाही हुँदै आएको छ। 

परिच्छेद ५ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ। 

१२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरि हुने उल्लेख छ। 

त्यस्तै, जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेछ। तर, जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत नहुने संहितामा उल्लेख छ।