'पैसा लिन आऊ' भनी घरमा बोलाएर व्यापारीको हत्या

नेपाल लाइभ | २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019 २२:२५:०० मा प्रकाशित

जनकपुर- जनकपुरमा एक व्यवसायीले बाँकी रकम उठाउन ताकेता गर्दा ज्यानै गुमाउनु परेको छ।

जनकपुरधाम-२ वकिल टोल बस्ने शिव आयलका संचालक मनोज साहले बक्यौता रकम लिन ताकेता गर्दा गोली हानी हत्या गरिएको हो। 

साहलाई निर्माण व्यवसायी जनकपुर १४ बस्ने पंकज भनिने शंकर चौधरीले गोली हानी हत्या गरेका हुन्।

घटना लगत्तै हत्या आरोपमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको छ। गोली प्रहार गरी हानेर भाग्न खोजेको अवस्थामा उनलाई रहेको घरबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।   

बुधबार बिहान करिब १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलिया बस्ने ठेकेदार चौधरीले साहलाई डिजल बापतको बक्यौता रकम माग्न आएको बेलामा घरमै गोली प्रहार गरेका थिए। 

स्थानीयका अनुसार करीब आधा घन्टासम्म पंकजको घरमा दुवै बीच विवाद भइरहेको थियो। एक्कासी गोली चलेको आवाज आएपछि स्थानीयहरु घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेका थिए।

मनोजका पारिवारिक श्रोतअनुसार पंकजले पेट्रोल पम्पबाट डिजेल खरिद गरेको र केही नगदसमेत ऋण लिएको रकम बाँकी महिनौंदेखि ताकेता गर्दै आएका थिए। बिहान पंकजले 'पैसा लिन आऊ' भनी घरमा बोलाएका थिए। चौधरीले ८ लाख रूपैयाँ तिर्न बाँकी रहेको परिवारले जनाएको छ।

 

घटनापश्चात् प्रहरीले प्रकृति मुचुल्का उठाई मृतक मनोज शव पोष्टमार्टमका लागि जनकपुर अस्पताल पठाएको छ। अस्पतालका अनुसार मनोजको छातीमा दुई गोली लागेको छ। साहको मुटुमै गोली लागेको अस्पतालले बताएको छ।

प्रहरी नियन्त्रणमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तौल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पेस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाएको छ।