रुसको साइबेरियामा सुन खानी भत्किँदा १५ जनाको मृत्यु, १३ बढी बेपत्ता

नेपाल लाइभ | २०७६ कार्तिक ३ आइतबार | Sunday, October 20, 2019 ०६:५९:०० मा प्रकाशित

मस्को- रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन्। घटनामा कम्तीमा १३ जनाभन्दा बढी पुरिएर बेपत्ता भएका बताइएको छ।

गैरकानुनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानुनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको हो।

खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चार माध्यमहरूले बताएका छन्।

घटनापछि करिब ३ सय उद्धारकर्मी र ६ हेलिकोप्टर घटनास्थलमा पुगेका र बेत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापन मामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ। तर, घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन्।

उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानुनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपुर्‍याइँदा वर्षेनी सयौँ श्रमिकको ज्यान जाने गरेको छ। रासस/एएफपी