म्यानमार- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एसियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर कामगरी पूरै एसियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन्।
म्यानमार-नेपाल मैत्री सङ्घ र म्यानमार नेपाल चेम्बर अफ कमर्सद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यानमार-नेपाल मैत्री र व्यवसायका अवसर’ विषयक विचार गोष्ठीमा उनले म्यानमार र नेपालले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी-७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए।
उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
उनले म्यानमारले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका तत्कालीन महासचिव उ थान्त (म्यानमार)ले अन्तर्राष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरे।
नेपाल र म्यानमार दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब ८ करोड जनसङ्ख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुनसक्ने औँल्याए। नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यानमारका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उनले विकासोन्मुख मुलुक भएकाले केही अन्तर्राष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिए। गैरआवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यानमार-नेपाल हवाई उडान मिलाउन सकिने धारणा राखे।
सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल-म्यानमार सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए। उनले विद्यालयहरुमा इतिहास विषय अध्ययन-अध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुुपर्ने बताए। (राससका विशेष प्रतिनिधि श्याम रिमाल/फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।