१३ राउण्ड गोलीसहितको पेस्तोल र ठूलो मात्रामा लागु औषधसहित एक युवक पक्राउ

नेपाल लाइभ | २०७६ असोज २७ सोमबार | Monday, October 14, 2019 १२:२९:०० मा प्रकाशित

काठमाडौं– विभिन्न हातहतियार र लागु औषधसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ डेरा गरी बस्ने कोशी गाउँपालिका–३ घर भएका २३ वर्षीय निरज कुमार राउत छन्। उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड बरामद गरेको छ। त्यसैगरी लागुऔषध खैरो हेरोइन ७ ग्राम, डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद भएको छ। 

लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

राउतले लागुऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।