गोली प्रहार गरी रौतहटमा युवकको हत्या

नेपाल लाइभ | २०७६ असोज २६ आइतबार | Sunday, October 13, 2019 १८:४१:०० मा प्रकाशित

जनकपुर- रौतहटमा एक युवकमाथि गोली प्रहार गरी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार इशनाथ नगरपालिकामा एक युवकमाथि गोली प्रहार गरी हत्या गरिएको हो।

भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएका युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन्।

इशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालयनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन।

भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ।

मृतक युवक अन्दाजी २५ वर्षका छन्।

मृतकका साथबाट उनको पहिचान हुने कुनै वस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए