सीले नभेटेकोमा बाबुरामको असन्तुष्टि

नेपाल लाइभ | २०७६ असोज २६ आइतबार | Sunday, October 13, 2019 १७:०८:०० मा प्रकाशित

काठमाडौं- चीनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण र राजनीतिक दलका नेताहरुको भेटमा मधेशवादी दल र आफ्नो दललाई नभेटेपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी दल नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्टि पोखेका छन्।

सामाजिक सञ्जालमा टुईटरमा सरकारले ध्यान नपुर्‍याएको टिप्पणी गरेका छन्। 

चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाइ भन्दै बाबुरामले  भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान नपुर्या‍एको लेखेका छन्।  

नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने उनको भनाई छ। 

उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनु पर्ने भन्दै उनले अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्ने र भावनात्मक दूरी बढ्न सक्ने चेतावनी दिए।  

उनले भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस भन्दै सुझाव समेत दिएका छन्।