पोखरा– कास्की २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कांग्रेसबाट ९ जना आकांक्षी देखिएका छन्।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रत्यासीहरुको दौडधुप बढेको छ। आकांक्षीहरुमा पूर्व प्रतिस्पर्धीदेखि पूर्वमन्त्री समेत छन्।
दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीसँग पराजित कांग्रेस उम्मेदवार देवराज चालिसेले पुनः प्रतिस्पर्धामा उत्रने रुचि देखाएका छन्।
उपनिर्वाचनमा उम्मेदवार हुने ईच्छा राख्नेहरुमा खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण विजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बराल छन्।
पौडेल पूर्व महासमिति सदस्य हुन्। अधिकारी २०७० को दोश्रो संविधानसभाका उम्मेदवार थिए। बास्तोला निर्वाचन हुने क्षेत्रका सभापति हुन्। विजुक्छे महाधिवेशन प्रतिनिधि हुन्। महिलाबाट उम्मेदवारको सूचिमा रहेकी लक्ष्मी पाण्डेय जिल्ला कोषाध्यक्ष हुन्। गुरुङ पूर्व राज्यमन्त्री हुन् भने काफ्ले महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन्। बराल प्रदेशसभा सदस्यका उम्मेदवार थिए।
पार्टी केन्द्रले १० दिनअघि उम्मेदवार छनोट जिल्ला कार्यसमितिलाई परिपत्र गरेसँगै उम्मेद्वारका आकांक्षीहरु देखिएका हुन्। क्षेत्रीय कार्यसमितिको बैठक सकेर जिल्लामा नामावली प्राप्त भएको जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए। उनले भने, ‘क्षेत्रबाट आएका नामावलीमा राय सुझाव सहित केन्द्रमा पत्राचार गर्छौ।’
जिल्ला कार्यसमितिलाई उम्मेदवारको सूची तयार गर्ने अधिकार नभएको उनले प्रष्टाए।
आकांक्षी उम्मेवारहरुका बीचमा छलफल गरी अन्तिम नामावली पठाउने जनाइएको छ। असोज मसान्तअघि नै नामावली केन्द्रमा पठाउने केसीले जानकारी गराए।
लामो समय प्राध्यापन पेशा छोडेर कांग्रेस राजनीतिमा लागेका चालिसे उपनिर्वाचनमा दोहोरिने सम्भावना रहेको धेरैको आंकलन छ। कांग्रेसका बौद्धिक नेताका रुपमा चिनिएका चालिसे ८ हजार ५ सय ४२ को मतान्तरले अधिकारीसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।