काठमाडौं- नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ।
‘नेपाल भ्रमण वर्ष-२०२०’लाई सफल बनाउने नेपाल सरकारको लक्ष्यलाई सघाउ पुर्याउने गरी नेपाली सेनाले बिहीबार काठमाडौंमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा विदेशी पर्यटकहरुको सहभागिता हुने गरी माउन्ट एभरेष्ट एक्पिडिसन, नेपाल म्याराथुन लगायतका प्रतियोगितात्मक साहसिक खेलकुद कार्यक्रम तथा पर्यटकीय गतिविधि सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।
‘नेपाल भ्रमण वर्ष-२०२०’लाई सफल बनाउन नेपाली सेनाले पनि माउन्ट एभरेष्ट एक्पिडिसनलगायतका साहसिक खेलकुद कार्यक्रम घोषणा गरेको नेपाली सेनाका बलाधिकृत रथी सरद गिरीले जानकारी दिए।
भ्रमण वर्षका अवसर सेनाले साहसिक खेल नेपाली म्याराथन दौड, जंगल सफारी, माउन्ट एभरेष्ट पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगातका नौं वटा कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य प्राप्तिका लागि नेपाली सेनाले अघि सारेका जस्ता कार्यक्रम अन्य क्षेत्रले पनि अघि बढाउनुपर्ने जरुरी रहेको बताए। भ्रमण वर्षलाई सफल बनाएर नेपालको पर्यटन क्षेत्रको विकास गर्न सरकारले सक्दो पहल गरिरहेको पनि उनको भनाइ थियो।
कार्यक्रमको मुख्य उद्देश्य भ्रमण वर्षलाई सफल बनाउने तथा नेपालसँगको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै विस्तार गर्नुरहेको पनि नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।