हेल्प नेपाल नेटवर्कको ग्लोबल समिटको तयारी पूरा, डा रुइतलाई सम्मान गरिने

नेपाल लाइभ | २०७६ असोज १६ बिहीबार | Thursday, October 03, 2019 १८:१९:०० मा प्रकाशित

काठमाडौं- परोपकारका क्षेत्रमा सक्रिय हेल्प नेपाल नेटवर्कले विश्व वार्षिकोत्सव (ग्लोबल समिट)को तयारी पूरा गरेको बताएको छ।

संस्थाले स्थापनाको २०औं विश्व वार्षिकोत्सव असोज २५ गते काठमाडौंमा मनाउने तयारी गरेको हो।

नेटवर्कले काठमाडौंमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलन वार्षिकोत्सवमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि काठमाडौं आउने जानकारी दिएको छ। 

सो अवसरमा सामाजिक सेवाका ‘दानवीर र कर्मवीर’लाई सम्मान पनि गरिने हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले बताए।  

२० वर्षअघि स्थापना गरिएको हेल्प नेपाल नेटवर्कले एक डलर वा एक पाउन्ड उठाएर नेपालमा सहयोग गर्ने अवधारणा बनाएको थियो।

शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएरै संस्था स्थापना गरिएको अध्यक्ष बस्नेतले बताए। 

हेल्प नेपालले वार्षिकोत्सवका अवसरमा समाजसेवी श्रीजङ्ग शाह, आँखा रोग विशेषज्ञ डा. सुन्दुक रुइत र मोफसलमा रही समाजसेवामा क्रियाशील निरादेवी साहलाई सम्मान गर्नेछ। 

डा. रुइतले आँखा उपचारमा ख्याति कमाएका छन् भने श्रीजङ्ग शाहले आफ्नो अर्बौँको सम्पत्ति अस्पताललाई दान गरेका छन्।

यसैगरी निरादेवी साहले जनकपुरमा बेवारिसे बालबालिकालाई आश्रय दिएर हुर्काउने, बढाउने र पढाउने काम गर्दै आएकी छन्। 

हेल्प नेपालले विकट ठाउँमा स्कुलका भवनहरू, स्वास्थ्य शिविर, आँखा शिविर, इ–लाइब्रेरी, प्राकृतिक प्रकोप बाढी, पहिरो आगलागी, भूकम्पमा उल्लेख्य सहयोग गर्दै आएको छ।

हेल्प नेपालले भूकम्पपछि ७ वटा स्कुलका भवनहरू बनाइसकेको छ भने दुई स्कुलका भवन सकिने क्रम छन्।