काठमाडौं।
‘संसार आफू अनुसार भन्थे
कहाँ हुँदो रहेछ र
यदि कसैले माया के हो भने सोध्यो भने
म एउटा सुन्दर फूल मेरो आँगनमा रोप्थे होला...’
अभिनेता नाजिर हुसेनले लेखेको कविताको सानो अंश हो यो। यो कवितालाई आज(सोमबार)मात्रै उनले भिडियोमार्फत सार्वजनिक गरेका छन्।
‘मृत्यू पत्र’ शिर्षक दिइएको कवितालाई उनले भिडियोमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। भिडियोमा उनी आफै कविता वाचन गरिरहेका छन्। पृष्ठभूमिमा बज्ने संगीत पनि उनी आफैले सिर्जना गरेका हुन्। भिडियोको सम्पादन र छायांकन सुसन मगरले गरेका छन् भने यसको निर्देशन नाजिर आफैले गरेका हुन्।
‘यो एउटा सपनाको कथा हो। कुनै एक ब्यक्तिले अर्को ब्यक्तिलाई तेरो आयू कम छ भने पछि त्यो ब्यक्तिको मनमा उब्जिएको उसको मनोदशाको यात्रा मात्र हो,’ युट्युबमा सार्वजनिक गरिएको भिडियोमुनि नाजिरले उल्लेख गरेका छन्।
शब्दमा पढ्नुस पुरा कविता :
संसार आफू अनुसार भन्थे
कहाँ हुँदो रहेछ र
यदि कसैले माया के हो भनेर सोध्यो भने
म एउटा सुन्दर फूल मेरो आँगनमा रोप्थे होला
कसैले सम्बन्ध के हो भनेर सोध्यो भने
म किनारलाई सोध्थे होला खोलासँगको सम्बन्ध
कसैले जीवन के हो भनेर सोध्यो भने
म स्तब्ध हुन्थें होला
हिजो जीवनको यही मोडमा
मैले मेरा आफ्नाहरु गुमाए
आज जीवनको यही मोडमा
मैले मेरा परायाहरु गुमाउँदैछु
सायद आफैलाई पनि
संसार आफू अनुसार भन्थे
कहाँ हुँदो रहेछ र
थुप्रै मान्छेहरु मान्छेहरुसँग कुरा गरेजस्तै
आजकल मेरो घरको भित्ताहरु,
मेरो थोत्रो किताबहरु
एक्लिएका किताबका पानाहरु
मभित्रको आत्मासँग कुरा गर्छु
तर पनि भेटाउँदिन मेरा प्रश्नको उत्तरहरु
संसार आफू अनुसार भन्थे
कहाँ हुँदो रहेछ र
नहुँदो रहेछ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।