काठमाडौं- नेपाली समाजका विभिन्न विसंगतिलाई केन्द्रमा तयार गरिएको नाटक नौगेडीको प्रदर्शन सुरू भएको छ। पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक नौगडीको सर्वनाम थिएटरमा प्रदर्शन हुन थालेको हो। डिल्लीबजार कालिकास्थानस्थित थिएटरमा सो नाटक असोज १२ गतेसम्म प्रदर्शन हुने तय गरिएको छ।
सामाजिक, आर्थिक, राजनीतिक विसंगतिको चित्रण नाटकमा प्रस्तुत गर्न खोजिएको छ। सन्तान अभावमा नारी हृदयमा उब्जने सन्ताप चित्रण पनि नाटकको मुख्य अंगका रुपमा स्थापना गर्न खोजिएको नौगेडीमा श्रीमतीका रहर पूरा गर्न अहोरात्र खटिने श्रीमानको चरित्र च्यान्टेका माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ।
यसका साथै गाउँघरका पसल गर्न पल्केको अर्जुनका अर्कै फसल, राजनीतिलाई दाउपेचमा राखेर सिंगो जीवन व्यतीत गर्ने चन्द्रबहादुरको चरित्र पनि नाटकमा देखाउन खोजिएको छ।
लम्सालको निर्देशकीय भूमिकामा आइपी आचार्यले सहयोग गरेका छन् भने सिद्धान्त परियार र लक्ष्मी स्याङतानको पार्श्व गायन सुन्न सकिने छ। तिलक राईको परिकल्पनामा तयार भएको मञ्चमा लाइटिङको व्यवस्थापन पास लक्पाले गरेका छन्।
कलाकारहरू आइपी आचार्य, सुशीलसिं ठकुरी, रीता थापा, अनामिका लामिछाने, भीष्मराज जोशीले नाटकमा अभिनय गरेका छन्। यसगरी, दिवाकर घिमिरे, राहुल श्रेष्ठ, रुवी सत्याललगायतका कलाकारको पनि भुमिका उतिकै सशक्त छ।
भदौ २७ बाट सुरु भएको नाटक मञ्चन असोज १२ गतेसम्म बिहीबार बाहेक प्रत्येक दिन जारी रहने छ। अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ बंगलादेश र रारा राष्ट्रिय नाटक महोत्सव २०७५ सुर्खेतमा सफलतापूर्वक मञ्चन भएको नौगेडी प्रत्येक दिन बेलुका ५:१० मा प्रदर्शन सुरु हुने सर्वनामले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।