काठमाडौं- संविधान जारी भएको ४ वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भए पनि सर्वसाधारण नागरिकहरुलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन। सडकमा दैनिक मजदुरी गरिरहेका जनताको अधिकार सुनिश्चित गर्न संविधानसभाबाट जारी भएको संविधानको बारेमा उनीहरु नै अनभिज्ञता प्रर्दशन गर्ने गरेका छन्।
मौलिक हक, रोजगारी ,सम्पत्ति, सुरक्षा, समावेशीकरण र मानव अधिकारलाई संविधानले सम्बोधन गरे पनि जनता विश्वस्त छैनन्। किनकि उनीहरुले यसको महसुस गर्न सकेका छैनन्।
दोस्रो संविधानसभाको निर्वाचनपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। तर यो सर्वस्वीकार्य नभएको भन्दै विभिन्न दल र समुदायबाट विरोधको स्वर उठिरहेको छ।
नयाँ संविधान कार्यान्वयनका विषयमा यस अवधिमा निकै बहस र चर्चा परिचर्चा भए पनि आम जनतामा निराशा नै देखिन्छ।
सडकछेउ नाङ्लामा पसल गर्नेहरु, सडक किनारामा फलफूल बेचेर गुजारा चलाउने तथा अन्य पेसा व्यवसाय गरेर दैनिकी चलाउने आम नागरिक भन्छन्, 'नेताहरुले आफ्नो फाइदाका लागि संविधान बनाए। हामीलाई सधैं सास्ती।' कतिपयले त संविधानबारे आफूलाई थाहा नभएको र संविधान शब्द नै नसुनेको पनि बताए।
आम सर्वसाधारणले संविधानलाई कसरी बुझेका छन्? संविधान दिवसलाई कुन रुपमा लिएका छन्? लगायतका विषयमा नेपाल लाइभले कुराकानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।