काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन्।
अध्यक्ष दाहालले द्धन्द्धकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहमा संलग्न नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड दिए।
सहिद प्रतिष्ठान, नेपालद्धारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले सो आयोगको संयोजकमा आफूले भनेकै व्यक्तिलाई बनाउने आश्वासन दिएका खुलाए।
‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाइ थियो।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दाबी पनि गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।