विराटनगर– एक महिलाको हत्या आरोपमा झापाको गौरादह नगरपालिका– ६, दामुना बजारका ४५ वर्षीय पुण्य चुँडाललाई प्रहरीले पक्राउ गरेको छ।
असार २१ गते रतुवामाई नगरपालिका–६ स्थित एक गोठमा अर्धचेत अवस्थामा फेला परेकी महिलाको उपचारकै क्रममा मृत्यु भएपछि सो घटनामा चुँडाल पक्राउ परेका हुन्। मोरङको रतुवामाई नगरपालिका १० मा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले महिलालाई उद्वार गरी उपचारका लागि कोसी अञ्चल अस्पतालमा भर्ना गराएको थियो। उपचारकै क्रममा २२ गते राति मृत्यु भएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो।
चुँडालले आफू ती महिलासँग एक महिना अगाडिदेखि बस्दै आएको र उनको नाम सिर्जना भएको बताएका छन्। मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मुर्छित भएपछि उनलाई छोडेर आफू भागेको उनले स्विकारेका छन्।
घटनाको अनुसन्धान भइरहेको र चुँडाललाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कारबाही गरिने प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।