'कोषमा जम्मा हुनुपर्ने पशुपतिको भेटीमा चुहावट'

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १४:०९:०० मा प्रकाशित

काठमाडौं– प्रसिद्ध धार्मिक केन्द्र पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी कोषमा जम्मा नभई अन्तै पुग्ने गरेको पाइएको छ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अध्ययन क्रममा पशुपतिको भेटी चुहावट हुने गरेको पाएको हो। 

समितिका तर्फबाट अध्ययनमा सहभागी सांसद सुजिता शाक्यले उक्त चुहावट रोक्न संसदमा आग्रह गरिन्। समितिले विश्व सम्पदामा सूचीकृत सांस्कृतिक सम्पदाको अध्ययनका क्रममा पशुपतिमा ‘संवेदनशील चुहावट’ पाएको उल्लेख गरेकी छिन्।

पशुपतिको भेटी अपारदर्शी हुने गरेको सूचना प्राप्त गरेकाले त्यहाँ स्क्यानिङ मेसिन जरुरी रहेको उनले बताइन्। 

‘पशुपति जस्ता आस्था र श्रद्धाको धरोहरहरुमा हुने यस्तो खालको क्रियाकलाप रोक्नुपर्छ। एकद्वार प्रणाली बनाएर पुजारी, भट्ट र भक्तजनमाथि निगरानी गर्नुपर्छ,’ उनले भनिन्। (फाइल तस्बिर)