सेवाग्राहीसँग घुस लिने र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने विरुद्ध मुद्दा

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 ०७:०५:०० मा प्रकाशित

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत ३ लाख २६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

यस्तै, आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ। निजले सेवा प्रवेशका क्रममा पेस गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जारी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ। रासस