जापानकी पूर्व महारानीलाई स्तन क्यान्सर, आजै शल्यक्रिया गर्ने तयारी

नेपाल लाइभ | २०७६ भदौ २३ सोमबार | Monday, September 09, 2019 ०६:५७:०० मा प्रकाशित

टोकियो- जापानकी पूर्वमहारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ।

आइतबार ८४ वर्षीया मिचिकोलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ। मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेका थिए।

विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ।

महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन्। स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्नेछ।

शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेट्ने भएका छन्। छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो।

जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ। पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो।

विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्नुअघि उनले बालिकाहरु मात्र पढ्ने क्रिश्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गरेकी थिइन्। 

उनको कोखबाट वर्तमान राजा नारुहितोको जन्म सन् १९६० मा भएको थियो। उनका दोस्रो छोरा अकिसिनोको जन्म सन् १९६५ मा भएको हो। रासस/एएफपी