एनसेलको लाभकार उठाउन सर्वोच्च अदालत बाधक : नेकपा सांसद् तामाङ

नेपाल लाइभ | २०७६ भदौ १८ बुधबार | Wednesday, September 04, 2019 १६:२१:०० मा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सांसद शेरबहादुर तामाङले सर्वोच्च अदालतको कारणले एनसेलबाट लाभकर उठाउन बिलम्व भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा तामाङले सर्वोच्चको पछिल्लो फैसलाले ठूला करदाता कार्यालयलाई आदेश दिनु अघिल्लो फैसला विपरीत रहेको बताए।

लाभकर एनसेलबाटै उठाउन सर्वोच्चले पहिलोपटक गरेका फैसलामा ३९ अर्ब ६ करोड उठाउन भनिएको थियो। त्यस विरुद्धमा एनसेल सर्वोच्च गएपछि भदौ ९ को फैसलामा ठूला करदाता कार्यालयलाई पुनः कर निर्धारण गर्न भनिएको छ। 

 ‘को-को मिलेर किन ढिलो भइरहेको छ?कर निर्धारण गर्ने ठुला करदाता कार्यालय हो कि अन्य कुनै छ,’ तामाङले प्रश्न गरे।

२०७३ सालमा ठूला करदाताको कार्यालयले ६२ अर्ब ६३ करोड लाभकर उठाउनुपर्ने जनाएको थियो। करदाता कार्यालयले शत प्रतिशतसम्म जरिवाना गर्नसक्ने व्यवस्था हुँदाहुँदै ५० प्रतिशत मात्रै जरिवाना माग गरिएको तामाङले बताए। 

अदालतका कारण लाभकर उठाउन ढिलो हुने जनाउँदै संसदको छानबिनको विषय नबनोस् भनी सर्वोच्चलाई चेतावनी दिए। शतप्रतिशत जरिवानासहित कर निर्धारण गर्न ठूला करदाता कार्यालयलाई उनले सुझाव दिए।