सर्लाही- सर्लाहीमा स्थानीय सर्वसाधारणलाई मिटरब्याजमा पैसा लगाई ठगी गर्ने श्यामकृष्ण साह उर्फ श्याम परदेशीलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार मलंगवा नगरपालिका-१० स्थित उनकै घर नजिकबाट पक्राउ गरिएको प्रदेश २ का डिआईजी प्रद्युम्न कार्कीले जानकारी दिएका छन्।
नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई पक्राउ गरिएको हो।
उनलाई ठगी मुद्दामा कारबाही चलाउने तयारी प्रहरीले गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदायका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएका थिए।
उनीहरूले नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादललगायतका उच्च अधिकारीलाई भेटी आफूहरूको समस्या समाधान गरिदिन माग गरेका थिए। नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले उनीहरूलाई सहयोग गरेका थिए।
सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह (श्याम परदेशी)ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको स्थानीयको आरोप छ। परदेशीले परिवारका सबै सदस्यका नाममा ऋणीहरूलाई सात वटासम्म कागज गराएको स्थानीयको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।