काठमाडौं- कोरियाली सवारीसाधन उत्पादक कम्पनी साङयोङले नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको छ।
राजधानीको भृकुटीमण्डपमा मंगलबार सुरु भएको नाडा अटो सोमा साङयोङ मुसो ग्रान्ड मोडलको कारको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन्।
योसँग नेपाली उपभोक्ताका लागि कार बिक्री खुला गरिएको नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता आइएमएस मोटर्सले जानकारी दिएको छ। आइएमएसले अटो सोका अवसरमा योसँगै ६ मोडलका कार प्रदर्शनीमा राखेको छ।
नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएसँगै साङयोङले विभिन्न अफर समेत सार्वजनिक गरेको छ। आकर्षक मूल्य र उपयोगिताका हिसाबले पनि नेपाली उपभोक्ताबीच यो कार लोकप्रिय हुने विश्वास कम्पनीले लिएको बताएको छ।
यो कार खरिदकर्ताले एक वर्षको बिमा, एक वर्षको सवारी करसमेत छुट प्राप्त गर्नेछन्। यसैगरी, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता र २५ हजारसम्मको एक्सेसरिज पनि प्राप्त गर्ने विक्रेताले जानकारी दिएको छ।
साङयोङ मुसो ग्रान्डको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कोरियाको चौथौ ठूलो गाडी उत्पादक कम्पनी साङयोङका गाडी आधुनिक स्टाईल र उत्कृष्ट प्रदर्शनको लागि लोकप्रिय मानिन्छन्।
साङयोङको आधिकारिक विक्रेता आइएमएसले सवारी मेलाका अवसरमा हरेक कारको खरिदमा विभिन्न अफर समेत सार्वजनिक गरेको छ। रेक्सटोन कोरान्डो, तिभोली एक्सएलभी र एटिकन स्पोर्टस् मोडलमध्ये कुनै एक मोडलका कार खरिद गर्नेले भर्खरै बजारमा आएको सामसङ नोट टेन मोबाइल प्राप्त गर्नेछन्।
सवारी एक्सचेन्ज सुविधा पनि उपलब्ध हुने आइएमएसले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।