एजेन्सी– न्युजिल्यान्डमा भइरहेको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतीय बलर कमलेश नागरकोटीले आइपिएलको सिजन–११ का लागि छनोट हुँदै सबैको ध्यान तानेका छन्। नागरकोटीलाई कोलकाता नाइट राइडर्सले ३ करोड २० लाख भारुमा टिममा आबद्ध गरेको हो। १७ वर्षीय नागरकोटीको तुलना भारतीय टिमका हार्दिक पाण्ड्यासँग गर्न थालिएको छ।
उनलाई क्रिकेटर बनाउन पिता तथा दाइको ठूलो योगदान छ। उनका पिता भारतीय सेनाका अवकासप्राप्त सुबेदार हुन्, जसले आफ्ना छोराहरुलाई क्रिकेट खेलाउन जयपुरमा अपार्टमेन्ट किनेर राखेका थिए। पिताकै इच्छा अनुसार क्रिकेटर बनेका नागरकोटी भारतको उदीयमान युवा बलर हुन्। उनी १४६.९ किलोमिटरको गतिमा बलिङ गर्न सक्छन्।
एक वर्षअघिको कुरा हो, यू–१९ टिममा पर्नुअघि नागरकोटीले क्रिकेट सिक्ने ठाउँका प्रशिक्षक सुरेन्द्रसिंह राठौरसामु आइफोन बोक्ने इच्छा राखेका थिए। उनका सबै साथीसँग आइफोन थियो। जब उनी आफ्नो पुरानो फोन निकाल्थे, साथीहरु भन्ने गर्थे- 'अर्को फोन किनिहाल। दुई-दुई वर्षसम्म पनि एउटै फोन बोक्छन्?'
प्रशिक्षक राठौरले उनलाई यू–१९ टिममा परेमा आइफोन किनिदिने वाचा राखेका थिए।
लगत्तै उनी जुनियर च्यालेन्ज ट्रफी, विजय हजारे ट्रफी र राजस्थान सिनियर टिममा पर्न सफल भए।
उनी मलेसियामा भएको एसिसी यू–१९ एसिया कपका लागि भारतीय युवा टिममा परेका थिए। विश्वकपका लागि घोषणा गरेको टिममा पनि नागरकोटीको नाम पर्यो। उनले क्षेत्रीय स्तर हुँदै यू–१९ टिमसम्ममा स्थान बनाए, तर उनका प्रशिक्षकले आइफोन किनिदिने वाचा पूरा गरेका छैनन्।
कुनै समय प्रशिक्षकले आइफोन किन्दिने लालसा देखाएर क्रिकेटमा कम्मर कसेर जुटेका उनी अहिले आइपिएलमा आबद्ध भएसँगै करोड भारुका मालिक भएका छन्। अब उनी आफ्ना हर इच्छा पूरा गर्न सक्छन्।
अक्सनको बेला बाथरुममा
आइपिएल अक्सनको बेला नागरकोटी धेरै डराएका थिए। उनले भने- 'मेरो रुम पार्टनर पंकज यादवले अक्सनको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए। मैले भने हेर्न सकिनँ। कोठा बाहिर निस्केँ। जब मेरो लागि बोली लाग्दै थियो, म बाथरुममा गएर बसेँ।'
उनले रंगशालामै गएर अहिलेसम्म आइपिएलको एउटा मात्र खेल हेरेका छन्। अब आफू नै मैदानमा गएर आइपिएल खेल्न पाउँदा ठूलो सफलता हासिल गरेको उनको बुझाइ छ।
'मैले बिबिएलमा क्रिस लियोनले ब्याटिङ गरिरहेको टिभीबाट हेरेको थिएँ। अब उनै लियोन विरुद्ध नेटमा बलिङ गर्ने मौका मिलेको छ। विश्वास नै लागिरहेको छैन' उनले रोमाञ्चक भावमा सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।