भारतीय प्रधानमन्त्री मोदीलाई युएईको सर्वोच्च नागरिक सम्मान

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 ०८:२४:०० मा प्रकाशित

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब इमिरेट्स (युएई)को सर्वोच्च नागरिक सम्मान 'अर्डर अफ जायेद'बाट सम्मानित गरिएको छ। युएई भ्रमणमा रहेका मोदीलाई शनिबार सो सम्मान प्रदान गरिएको हो।

उक्त सम्मान पाउने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। 'अर्डर अफ जायेद' युएईको सर्वोच्च नागरिक सम्मान हो, जुन बादशाह, राष्ट्रपति र राष्ट्रप्रमुखहरुलाई प्रदान गरिन्छ।

यसअघि सो सम्मान सन् २००७ मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, सन् २०१० मा बेलायतकी महारानी एलिजाबेथ द्वितीय, सन् २०१६ मा साउदी राजा सलमान बिन अब्दुल्ला अजिज अल सउद र सन् २०१८ मा चीनका राष्ट्रपति सी चिन-पिङलाई प्रदान गरिएको थियो।

युएईले सन् १९९५ बाट सो सम्मान दिन थालेको हो।