रूसले आर्कटिक समुद्रमा उतार्‍यो पानीमा तैरन सक्ने परमाणु ऊर्जा केन्द्र

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 ०६:१७:०० मा प्रकाशित

काठमाडौं- रूसले पानीमा तैरन सक्ने परमाणु ऊर्जा केन्द्रलाई समुद्रमा उतारेको छ। यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ। यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ।

परमाणु एजेन्सी 'रोजनेरगोतम'का अनुसार 'अकाडेमिक लोमेनोसेफ' नामक पानीमा सहजै तैरन सक्ने यो ऊर्जा केन्द्र दूरदराजको क्षेत्रमा बिजुली आपूर्तिलाई बढावा दिनेछ।

केन्द्रको मुख्य उद्देश्य चुकोटको चाउन-बिलिबिन खनन कम्प्लेक्समा विद्युत उपलब्ध गराउनु रहेको बताइएको छ। यो कम्प्लेक्समा सुनको खानी समेत रहेको छ।

ग्रिनपिस संगठनका अनुसार प्रतिकूल मौसम रहेको अवस्थामा यस परियोजना अधिक जोखिमपूर्ण देखिएको छ।

ग्रिनपिसलगायतका आलोचक संगठनहरुले रूस र सोभियत संघको पछिल्लो परमाणु कार्यक्रमअनुसार अकाडेमिक लोमेनोसेफ मिसनमाथि चिन्ता जाहेर गरेका छन्। आलोचकहरुले यस मिसनबाट आर्कटिक समुद्रमा प्रदूषणको खतरा रहेको दाबी गरेका छन्।

मिसन सुरू हुनु दुई साता पहिले आर्कटिक समुद्रमा रूसी नौसेनाको परीक्षण क्षेत्रमा एक परमाणु इन्जिनमा विष्फोट भएको थियो, जसमा परि परमाणु इन्जिनियको समेत मृत्यु भएको थियो भने विकिरणको समेत चुहावट भएको थियो। यस घटनालाई सन् १९८६ को चेर्नोबिल घटनापछिको सबैभन्दा दुःखद बताइएको छ।

यो ऊर्जा केन्द्रमा अधिक रेडियोएक्टिभ इन्धन रहेको छ। अकाडेमिक लोमेनोसेफको एक लक्ष्य रूसको आर्कटिक क्षेत्रमा समुद्री तेल भन्डारसम्म विद्युत पुर्‍याउनु समेत हो।

पनामा क्यानलमा १९६८-७६ को दौरानमा अमरीकी सेनाले पानीमा तैरने परमाणु ऊर्जा केन्द्रको प्रयोग गरेका थिए। एमएच-१ 'ए' स्टरगिस नामक यस केन्द्र विश्वयुद्धको एक कार्गो पानीजहाजमा प्रयोग गरिएको र पछि यसलाई बन्द गरिएको थियो।