जनकपुर- महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको खुलासा भएको छ।
भंगहा नगरपालिकाकी ३८ वर्षीया महिलालाई स्थानीय ४ जना महिलाहरुले नै बोक्सी भन्दै कुटपीट गरी मानव मलमूत्र खुवाएका हुन्।
शनिबार साँझ खेतबाट घाँस लिएर घर फर्कँदै गरेकी ती महिलालाई बाटोमै घेरेर स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया ईन्दुकुमारी सिंह, ४५ वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीलगायतले कुटपिट गरी मलमूत्र खुवाएको पीडित परिवारले बताएको छ।
मलमूत्र खुवाउनेमध्ये ईन्दुदेवी सिंह र सुकेश्वरी देवीलाई साँझ नै प्रहरीले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। अन्य भने फरार रहेका छन्।
उनका अनुसार दुवैजना माथि कारबाही प्रक्रिया अघि बढाइएको र फरारहरुको खोजी कार्य जारी रहेको छ।
शनिबार घटना लगतै प्रहरी टोली घटनास्थल पुगेर ती महिलाको उद्धार गरेको थियो। महिलाको उपचार अहिले महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ।
यसअघि पनि मलमूत्र खुवाउने महिलाहरुले बोक्सी भन्दै गालीबेइज्जती गर्दै आएको पीडित परिवार बताएको छ।
मलमुत्र खुवाउने महिलाहरुलाई कारबाहीका लागि पीडित परिवारले आईतवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडकहरु विरुद्ध जाहेरी समेत दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।