कैलाली पुग्यो डेंगु

नेपाल लाइभ | २०७६ श्रावण ३२ शनिबार | Saturday, August 17, 2019 १९:१७:०० मा प्रकाशित

कैलाली- कैलालीको टिकापुर अस्पतालमा एक महिलामा डेंगु रोगको संक्रमण देखिएको छ। जानकी गाँउपालिका- ८ की ५५ वर्षीय निर्मला विकमा डेंगु रोगको संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हेमराज जोशीले जानकारी दिए।

ज्वरो आएर अस्पताल पुगेकी विकको रगत जाँच गरेपछि डेंगु देखिएको जोशीले बताए। विक एक महिना अघि मात्रै भारतबाट फर्किएकाले त्यहीँ संक्रमण भएको हुन सक्ने उनले बताए। 

सुदूरपश्चिमा यस वर्ष शुक्रबार पहिलो पटक डेंगुको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। गत वर्ष ५ जनामा डेंगुको संक्रमण देखएको थियो।