क्षतिग्रस्त सडक र पुलहरुको तत्काल मर्मतसम्भार गर्न सरकारलाई विकास समितिको निर्देशन

नेपाल लाइभ | २०७६ श्रावण २६ आइतबार | Sunday, August 11, 2019 १३:५३:०० मा प्रकाशित

काठमाडौं- संसदीय समितिले वर्षातका कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्भार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद्‌को विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वर्षातका कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो।

वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

त्यसैगरी बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्योलता अन्त्य गरेर यथाशिघ्र ती सडकहरुको पनि निर्माण कार्यलाई तीव्रता दिन पनि सरकारलाई सचेत गराएको छ। सभापति खड्काले दसैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षातले क्षति पुर्‍याएका सडक तथा पुलहरु पूर्णरुपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताइन्।

समितिले बिनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको उल्लेख गर्दै राज्यको स्रोत, साधनको दुरुपयोग र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न पनि सरकारलाई निर्देश गरेको छ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पुर्‍याएका सडक तथा पुल निर्माणको काम अघि बढ्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। समितिका सदस्य प्रभु साहले ३ वटै तहको हानाथापका कारण क्षतिग्रस्त पुल तथा सडकको जीर्णोदार तथा पुनर्निर्माण कार्य अघि बढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

यता, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्भार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए। उनले प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने विश्वास पनि समितिलाई दिलाए।

बैठकमा मन्त्री महासेठले सडक डिभिजन कार्यालयअन्तर्गत वर्षातका कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्भार र निर्माणका लागि करिब ४७ करोड ३४ लाख रुपैयाँ लाग्ने जानकारी पनि समितिलाई गराए।

गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षापछिको बाढी, पहिरो र डुबानबाट मानवीय क्षतिसमेत हुन पुगेको थियो। (फाइल तस्बिर)