मीना डंगोलका कला : चित्रकलामा चरा

नेपाल लाइभ | २०७६ श्रावण १९ आइतबार | Sunday, August 04, 2019 २१:००:०० मा प्रकाशित

काठमाडौं- पाँच दशकभन्दा लामो समय चराचुरुङ्गीलाई चित्रकलाको विषय बनाउँदै कलाकारिता गरेका प्रसिद्ध कलाकार तथा पंक्षीविद् स्व. हिरालाल डंगोलको सम्झनामा उनकै चित्रकार छोरी मीना डंगोलले शनिबार काठमाडौंमा एक दिने विशेष चित्रकला प्रदर्शनी गरेकी छन्।‘हिरा बाई मीना डंगोल : अ ट्रिब्यूट टु हिरालाल डंगोल’ शीर्षकको चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले तयार पारेका विभिन्न चराचुरुङ्गीका आकर्षक चित्रकलाहरु समावेश गरिएको थियो।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको चित्रकला प्रदर्शनीमा करिब तीन दर्जन चित्रकला प्रदर्शन गरिएको थियो। 

प्रदर्शनीमा राखिएका अधिकांश चित्रकलाहरुमा कलाकार डंगोलले लाटोकोसेरोका विभिन्न भाव–भंगिमा प्रस्तुत गरेकी थिइन्। 

प्रदर्शनीमा ६५ हजार रुपैयाँदेखि ३ लाख ९० हजार रुपैयासम्मका चित्रकलाहरु राखिएका थिए। 

कलाकार डंगोलले काकाकुल, कालिज, सेतो बकुला, ठूलो डुन्डुल, लाटोको सेरो, हिम उल्लू, डाँफे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल, सेतो बकुलो, लामपुच्छ्रे आदि चराचुरुङ्गीलाई चित्रकलामा समावेश गरेकी थिइन्।

उक्त प्रदर्शनीको उद्घाटन पर्यटन व्यवसायी तथा द्वारिका होटल्स एन्ड रिसोर्टका अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठले गरेकी थिइन्। प्रदर्शनी अवलोकन गर्दै पर्यटन व्यवसायी श्रेष्ठले स्व.हिरालाल डंगोलको गुण उनकी चित्रकार छोरी मीना डंगोलमा सरेको बताउँदै प्रदर्शित चित्रकलाले प्रकृतिको नजिक पुर्याएको धारणा व्यक्त गरिन्।

कलाकार मीना डंगोलले बुवा हिरालाल डंगोलकै प्रेरणाले आफू चित्रकलामा सक्रिय भएको बताउँदै आफ्नो चित्रकारितामा पंक्षीलाई नै मुख्य विषयवस्तु बनाउनुको कारण बुवासंगै सानिध्यता रहेको स्पष्ट पारिन्। चित्रकार डंगोलले प्रायः  आक्रामक पंक्षीहरुलाई चित्रकलाका विषय बनाउदै आएकी छिन्।

केही वर्षअघि बुवा स्व.हिरालाल डंगोलसंगै आफ्ना चित्रकलाहरुलाई ‘बर्ड्स अफ नेपाल’ शीर्षकको सामूहिक चित्रकला प्रदर्शनीमार्फत प्रस्तुत गरिसकेकी चित्रकार मीना डंगोलले शनिबार पहिलो पटक एकल चित्रकला प्रदर्शनीमा सहभागिता जनाएकी हुन्।

चित्रकार डंगोलले आजको प्रदर्शनी पंक्षीमय भएको बताउँदै लाटोको सेरोको चित्रकला तयार पार्दा आत्मसन्तुष्ठि मिल्ने बताइन्।