काठमाडौं- नेपाल वायुसेवा निगमले 'नेपाल भ्रमण वर्ष २०२०'लाई लक्षित गर्दै आन्तरिकतर्फ परीक्षण उडान गर्न सुरु गरेको छ।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार शनिबार चौरझारी र ताप्लेजुङमा परीक्षण उडान गरिएको थियो। वाई-१२ विमानबाट आइतबार रुकुम र भोजपुरमा सफल रुपमा परीक्षण उडान गरिएको उनले बताए। यी दुवै स्थानमा सोमबार पनि परीक्षण उडानलाई निरन्तरता दिने मिश्रले जानकारी दिए।
यस्तै मंगलबार र बुधबार बाजुरा र तुम्लिङ्गटारमा परीक्षण उडान हुने नेपाल वायु सेवा निगमले जनाएको छ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिएका छन्।
सोहीअनुसार नै आन्तरिकतर्फ परीक्षण उडान गरिएको मिश्रले बताए। 'अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवा उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिकतर्फ योजनावद्ध तयारी एवम् व्यवस्थापनमा केन्द्रित हुन यस्तो थालनी गरिएको हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।