सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु र तीन जना घाइते

नेपाल लाइभ | २०७६ श्रावण ७ मंगलबार | Tuesday, July 23, 2019 १७:१२:०० मा प्रकाशित

राजविराज- सप्तरीमा मंगलबार चट्याङ लागेर २ महिलासहित ३ जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

तिलाठी कोइलाडी गाउँपालिका-१ निवासी लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनम यादवको मृत्यु भएपछि चट्यांका कारण मर्नेको संख्या तीन पुगेको हो। खेतमा काम गरिरहेका बेला उनलाई चट्याङ्ग लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

योसँगै सप्तरीमा चट्याङ्गवाट मर्नेको संख्या तीन पुगेको छ। यसअघि सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिकामा १/१ जनाको मृत्यु भएको थियो।

वर्षासँगै बिहान सवा ९ बजे परेको चट्याङ्गले लागेर सुरुङ्गा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरीको मृत्यु भएको थियो।

खेतमा काम गरिरहेका बेला चट्याङ् लागेर गम्भिर भएपछि उपचारका लागि उनलाई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, करिब ११ बजे परेको चट्याङ लागेर हनुमानगर कंकालिनी नगरपालिका–११ निवासी ४५ वर्षीया शिवसती देवीको मृत्यु भएको थियो।

खेतमा खाना पुर्‍याएरर घर फर्किने क्रममा उनलाई चट्याङ लागेको सप्तरीका डिएसपी भावेश रिमालले बताए।

चट्याङ्ग लागेर बोदेबरसाईन नगरपालिका –८ मा ३ जना घाईते भएका छन्। 

खेतमा काम गरिरहेका बेला परेको चट्याङ्ग लागेर जयप्रसाद साहकी पत्नि ४२ वर्षीया देविकादेवि, रामबाबु साहका छोरा ३५ वर्षीय दिपेन्द्रकुमार साह र उनकी पत्नि ३० वर्षिय सोनिदेवी घाईते भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ। उक्त घटनामा एउटा गोरु पनि मरेको प्रहरीको भनाई छ।