वडाध्यक्षको पेटमा रड हान्ने चोर समातिए

नेपाल लाइभ | २०७६ श्रावण ६ सोमबार | Monday, July 22, 2019 १८:३०:०० मा प्रकाशित

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–१४ का वडाध्यक्ष फन्द्रबहादुर तामाङलाई पेटमा रड प्रहार गरेर फरार भएका एक चोरलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गोरखाका पदम गौतम छन्। गौतम गत शुक्रबार दिउँसो साढे ४ बजेतिर काठमाडौं बानियाँटारमा रहको वडाध्यक्षको तामाङको घरमा चोर्न गएका थिए। चोरी गर्दै गरेको अवस्थामा पक्राउ गर्न लागेपछि उनले वडाध्यक्ष तामाङको पेट र हातमा ताला फुटाउन प्रयोग गर्ने रड प्रहार गरेर फरार भएका थिए। 

उनले वडाध्यक्ष तामाङको घरबाट ४० हजार नगद, १ थान ल्यापटप, ३ थान मोबाइल र सुनका गरगहना चोरी गरेका थिए। चोरेर फरार भएका उनलाई शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बानियाँटारबाट पक्राउ गरेको हो। 

चोरी गरेको सामान उनले भारत घर भई बानियाँटारमा कवाडी सञ्चालन गर्दै आएका सुमन सहनीलाई बेचेका थिए। चोरीको ल्यापटप र मोबाइल प्रतिगोटा ५ हजार रुपैयाँ दरले किनेका सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका गौतम लागुलौषध दुर्व्यसनी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बेला उनको साथबाट खैरो हिरोइन र गाँजा बरामद गरको थियो।