काठमाडौं- नेपाल इन्भेष्टर्स फोरमले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट नै सेयरको भारित औसत गणना गर्ने व्यवस्था गर्न माग गरेको छ।
अनलाइन प्रणालीमा पुँजी बजार प्रवेश गरिसकेको अवस्थामा लगानीकर्ता स्वयंले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पुँजीबजारलाई कागजी प्रक्रियामा धकेलेको र लगानीकर्ताहरु ब्रोकर अफिसमै जानुपर्ने अवस्था आउने भन्दै फोरमले सिडिएसबाटै यसको व्यवस्था मिलाउन माग गरेको हो।
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सेयर बजारमा पुँजीगत लाभकर भारित औसत विधिबाट गर्ने व्यवस्था गरेको छ। यसको गणना सिडिएससीले नै गरिदिनुपर्ने माग लगानीकर्ताहरुले गरेका हुन्।
चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत आयकर ऐन २०५८ को दफा ९५ मा रहेको व्यवस्था संशोधन गर्दै भारित औसत लागतका आधारमा पुँजीगत लाभकर गणना गर्ने उल्लेख गरिएको छ।
इन्भेष्टर्स फोरमले लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागतसमेत सिडिएससी र ब्रोकरको कम्प्युटर सिस्टममा रहेकाले त्यसैअनुसार भारित औसत दरमा पुँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष भएको सहमति कार्यान्वयन गराउन पनि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।