काभ्रे- सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रदेश सरकार र स्थानीय तहले संघीयताको अभ्यास गर्दा संविधानको गलत व्याख्या गर्न नहुने बताएका छन्।
नगरपालिका संघले बुधबार धुलीखेलमा आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकार र स्थानीय सरकारले संघीयताको अभ्यास गर्दा आफ्नो क्षेत्राधिकारको हेक्का राख्नुपर्ने बताएका हुन्।
मन्त्री राईले भने, 'गाँउ-गाँउमा सिंहदरबार पुग्यो। तर, सिंहदरबारको अधिकार कतै बढी मात्रामा प्रयोग गर्दा जनताले दुःख पाउने अवस्था सिर्जना नहोस् भन्नेमा केन्द्र सरकार चिन्तित छ।'
उनले संघीयताको अधिकार मिच्ने सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारको अधिकारमा केन्द्र सरकारले कहिले पनि हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारे। केही कानुनको निर्माणपछि तीन तहको सरकारबीच अधिकार बाँडफाँटको विषय व्यवस्थित हुने भएकाले वर्तमान परिस्थितिलाई स्थानीय सरकारले बुझिदिनुपर्ने मन्त्री राईको भनाइ छ।
नगरपालिकाहरुको गुरुयोजना सहरी विकास मन्त्रालयले नै बनाउने भएकाले यही मन्त्रालयलाई नै सम्पर्क मन्त्रालय बनाउनेतर्फ आग्रह हुने समेत उनले सवै स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह गरे।
नगरपालिकाहरुले बनाएको रणनीतिक कार्ययोजनालाई मन्त्रालयले आत्मसाथ गरेर आगामी दिनमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री राईको भनाइ छ।
बिहीबारसम्म चल्ने कार्यशाली गोष्ठीमा नगरपालिकाहरुको भावी रणनीतिक योजनाबारेमा छलफल हुनेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।