जनकपुर– भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन्।
झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव बढ्दै गए पनि भारतीय पक्षले सीमा क्षेत्रमा लगाएको बाँधको ढोका नखोलिदिँदा रौतहटको मुख्य बजार चन्द्रनिगाहपुर तथा अन्य मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड, फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीलगायत क्षेत्रहरु डुबानमा परेका छन्।
पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको विरोध भइरहेको छ। फेसबुक तथा ट्विटर प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन्। दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ। सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ।
सिडिओ भन्छन्- पटक-पटक आग्रह गरें
पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले आफ्ना समकक्षीहरुलाई आग्रह गरे पनि भारतीय पक्षले खोलिदिएको छैन। ‘मैले पटक-पटक बाँध खोलिदिन आग्रह गरेको छु,’ रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘तर नखोलिदिँदा समस्या भयो।’
लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न करिब अढाइ फुट मात्र बाँकी छ। यदि त्यो बाँध फुट्यो भने भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउने गौरबासी बताउँछन्।
यद्यपि, बाँध क्षेत्रमा भारतले उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ। तर, पानीको निकास खोल्नुको सट्टा बाँधको सुरक्षामा टोली खटाएको भन्दै भारतको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।