आफ्ना सांसदलाई अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्न कांग्रेसको निर्देशन

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १७:१७:०० मा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई सामाजिक सञ्जालमा खाता खोल्न अनिवार्य गर्ने भएको छ।

पार्टी गतिविधि तथा संसद्‌को जानकारी द्रुत गतिमा प्रवाह गर्नका लागि सांसदहरुलाई सामाजिक सञ्जाल चलाउन अनिवार्य गर्न लागिएको छ। कतिपय सांसदहरु सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त हुन नसकेका कारण सहयोगीमार्फत प्रयोग गर्नेछन्।

भूमिका प्रभावकारी बनाउनका लागि सांसदका सहयोगीलाई पनि प्रशिक्षण गरिने भएको छ। सांसदका निजी सहायकहरुलाई प्रशिक्षणका लागि शनिबार संसदीय दलको कार्यालय सिंहदरबार बोलाइएको छ।

नेपाली कांग्रेसमा पहिलो पुस्ताका नेताहरु सामाजिक सञ्जाल प्रयोगमा अभ्यस्त रहे पनि अघिल्लो पुस्ताका नेता तथा सांसदहरु सञ्जालको प्रयोगप्रति अभिरुचि राख्दैनन्।

युवा नेता गगन थापा सामाजिक सञ्जालमा अन्य नेताहरु भन्दा बढी सक्रिय छन्। प्रवक्ता विश्वप्रकाश शर्मा ट्विटरमा सरकारको प्रतिवाद गर्न सक्रिय छन्। फेसबुक तथा ट्विटरमा थापाले अपडेट गरिरहेका हुन्छन्। साथै, युवा नेता प्रदीप पौडेलले पनि सामाजिक सञ्जालमा अपडेट गरिरहेका हुन्छन्।

दोश्रो तहका नेतामा डा शेखर कोइराला अन्य भन्दा केही सक्रिय देखिन्छन्। सांसदमा मीन विश्वकर्मा, लक्ष्मी परियारले फेसबुकमा स्टाटस अपडेट गरिरहेका देखिन्छन्।

पहिलो पुस्ताका नेताहरुमा सभापति शेरबहादुर देउवाको फेसबुक र ट्विटर सहयोगीमार्फत सञ्चालित छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहयोगीमार्फत स्टाटस राख्दै सामाजिक सञ्जालमा आक्कल-झुक्कल देखिन्छन्। महामन्त्री पूर्णबहादुर खड्का, सह-महामन्त्री डा प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा रामशरण महतलगायतका नेता कहिलेकाहीँ ट्विटरमा देखिन्छन्। अधिकांश नेताले सञ्जालको प्रयोगलाई बेवास्ता गर्दै आएका छन्।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सबै सांसदलाई सामाजिक सञ्जालको प्रयोगमा सक्रियता बढाउने जनाए। उनले भने, ‘सामाजिक सञ्जालमा अपडेट नहुनेलाई उम्मेदवारको टिकट नदिने निर्देशन जारी गरे पनि त्यसबेला कार्यान्वयन हुन सकेन।’

नयाँ पुस्ताअनुरुप सामाजिक सञ्जालको प्रयोगलाई अघि बढाउन नसकिएको उनले स्विकारे। सामाजिक सञ्जालमा आएका कमेन्टका कारणले पनि वितृष्णा जागेको उनले गुनासो गरे। खाँणले भने, ‘कमेन्ट हेर्दै जाँदा आफ्नै कार्यकर्ताले आफूलाई गाली गरेका हुन्छन्। चलाउनभन्दा नचालाउन ठीक ठानें।’

विज्ञप्ति तथा फोनभन्दा प्रभावकारी माध्यम सामाजिक सञ्जाल भएको उनको बुझाइ छ। गाली र नकरात्मक कमेन्टलाई बेवास्ता गरेर भए पनि सांसदहरुलाई अनिवार्य सामाजिक सञ्जाल प्रयोग गर्न सुझाइएको छ।

गत असारमा भएको जिल्ला सभापतिको भेलामा सह-महामन्त्री डा महतले पार्टी सामाजिक सञ्जालको प्रयोगमा चुकेको स्वीकारेका थिए। सत्तारुढ दलले कांग्रेसका विषयलाई ‘तिललाई पहाड’ बनाउँदा प्रतिवाद गर्न नसकिएको उनको गुनासो थियो।