काठमाडौं– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेको खबर झुटो भएको बताएका छन्। तर, ‘मडरेट कन्जर्भेटिभ’ पार्टी निर्माणका लागि आफू एकीकरण र ध्रुवीकरणको पक्षमा भने रहेको मिश्रको भनाइ छ।
सञ्चारमाध्यममा आफू राप्रपामा प्रवेश गर्न लागेको समाचार प्रकाशित भएको भन्दै मिश्रले उक्त समाचार झुट भएको उल्लेख गरेका छन्।
'आज (बुधबार) केही सञ्चारमाध्यममा मबारे प्रकाशित समाचार झुट हुन्। देशलाई शीरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ,' मिश्रले सामाजिक सञ्जालमार्फत् एक प्रेस नोट जारी गर्दै भनेका छन्।
जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ-राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुने भएपनि नेपालमा अहिले त्यस्तो पार्टी नभएको मिश्रको भनाइ छ।
'समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन,' मिश्रले भनेका छन्।
आफू एक्लै कतै जोडिएर ‘मडरेट कन्जर्भेटिभ’ पार्टी बनाउन सम्भव नभए पनि सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि एकीकरणमा भने आफ्नो चासो कायमै रहने मिश्रको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।