काठमाडाैं- गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहँदा मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङ्गेले मुख्यमन्त्रीको दाबी गरेका छन्। अन्य राजनीतिक दलबाट सरकार सञ्चालन राम्रो नभएको भन्दै उनले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्।
सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा मोर्चा बनाउन सहयोगको प्रस्ताव गरेका थिए। सरकार परिवर्तनको प्रस्ताव सकारात्मक रहेको बताउँदै मनाङ्गेले आफूलाई नेतृत्व दिन प्रस्ताव गरे।
‘अब अरु पार्टीबाट प्रदेश सरकार चल्ने देखिएन,’ मनाङ्गेले नेपाल लाइभसँग भने, ‘म आफैं योग्य दाबेदार हुँ, मसँग प्रदेशलाई विकास गर्ने १० योजना छन्।’ कांग्रेससहितका दलहरुको छलफलमा आफैं मुख्यमन्त्री मागेको उनले स्वीकार गरे। ‘सरकारमा गएका दलहरुबाट काम नहुने पुष्टि भइसकेकाले यस्तो प्रस्ताव गरेको हुँ,’ उनले भने।
सरकार कसरी चलाउने योजना छ त भन्ने प्रश्नमा मनाङ्गेले आफूसँग प्रदेशको विकासका लागि निश्चित १० योजना रहेको बताए। उनले पहिलो काम भ्रष्टाचार नियन्त्रण गर्ने रहेको उल्लेख गर्दै त्यसका लागि घुस नखाइ इमान्दार भएर काम गर्ने बताए। ‘जति सरकारी कर्मचारी छन्। ती सबैका लागि योजना बनाएको छु,’ उनले भने, ‘स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने कार्यका लागि पनि योजना छन्।’
कर्मचारीलाई अपार्टमेन्ट बनाउनेदेखि विद्यालयमा करारका उच्च गुणस्तरीय शिक्षक भर्ना गरेर शिक्षामा सुधार गर्नेसम्मका योजना आफूसँग रहेको उनले बताए। ‘सरकारी शिक्षकलाई उच्चस्तरको बनाउने हो भने शिक्षाको समस्या समाधान हुन्छ। अनि स्वास्थ्य नि:शुल्क गरेर जाने हो भने आधा घुस खाने कार्य बन्द हुन्छ,’ उनले भने, ‘मेरो ४५ हजार तलव छ, अनि कसरी पुग्छ? अनि घर चलाउन घुस खानु परेन?’
मुख्यमन्त्री, मन्त्री र सांसदले पनि घुस खाएका कारण समस्या भएको उनको बुझाइ छ। ‘अहिले खानै नपुग्ने समस्याका कारण घुस खाएकाले पहिलो काम सरकारले बस्न घर, पढाउन सरकारी विद्यालय र स्वास्थ्य उपचारको उचित प्रबन्ध गर्ने हो भने यो समाधान हुन्छ,’ सांसद मनाङ्गेले भने। सरकारी अस्पतालमा जाँदा उसको उपचार राम्रो भयो र परिवारको पनि नि:शुल्क उपचार भयो भने सरकारी कर्मचारीले घुस खान नपर्ने उनको तर्क छ।
सरकारी विद्यालयमा पढाइ राम्रो भयो निजीमा पढाउन नपर्ने अनि त पैसाको आवश्यकता नै नपर्ने उनको दाबी छ। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार चलाए राम्रो हुने आफूलाई लागेको उनको भनाइ छ। मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव आएपछि त्यसमा हस्ताक्षर गर्ने कि नगर्नेबारे आफूले निर्णय लिने उनले बताए।
गुन्डा नाइकेको पृष्ठभूमि भएका र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दा खेपेका कारण उनको छवि विवादित रहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।