काठमाडाैं- संसदीय सुनुवाई विशेष समितिले विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाइ थालेको छ।
संसदीय सुनुवाई विशेष समितिको बैठकमा अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षमा प्रस्तावित बालानन्द पौडेलको सुनुवाइ भइरहेको छ। यसपछि राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्रस्तावित शान्तराज सुवेदीको सुनुवाइ हुने कार्यक्रम छ।
गएको माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले नेपालको संविधानअनुसार गठन हुने विभिन्न आयोगहरु मध्ये ५ वटा संवैधानिक आयोगको प्रमुखमा नियुक्तिको सिफारिस गर्दै संसदीय सुनुवाइको लागि समितिमा पठाएको थियो।
संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।
जारी सुनुवाई समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित रहेका छन्। विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद् बैठकले गरेको निर्णयप्रति असहमति जनाउँदै कांग्रेसले त्यस यताका सुनुवाई समितिको बैठक बहिस्कार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।