भैरहवा- रुपन्देहीको भैरहवामा श्रोत नखुलेको ४६ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। भैरहवामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर राजस्व तथ भन्सार गस्ती सुरक्षा टोलीले ४६ लाख बढी नेपाली र भारतिय मुद्रा बरामद गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-१, डण्डा बेस नजिकै जाँचका क्रममा भारतीय कारबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक गोबिन्द खातीले जानकारी दिए।
उपरिक्षक खातीका अनुसार भारतको सुनौली नाका हुँदै नेपाल भित्रिएको युपी५६टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट गाविस-५ बस्ने ४५ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो।
बरामद भएको उक्त रकमको कुनै श्रोत बताउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डा बेसका प्रमुख तथा प्रहरी नायब उपरीक्षक खातीले बताए।
खातीका अनुसार जाँच गर्दा गाडीको डिक्कीमा झोलाभित्र बिस्कुटको कार्टुनमा मिलाएर राखिएको अवस्थामा सो रकम फेला परेको थियो। जसमा नेपाली १ हजार रुपैयाँका २ हजार ९ सय ३५ थानले जम्मा २९ लाख ३५ हजार, ५ सय दरका २५ सय थानले जम्मा १२ लाख ५० हजार गरी ४१ लाख ८५ हजार रहेकाे थियाे। यस्तै भारतीय रुपैयाँ २ हजार दरका ४१ थान, ५ सयका ३ सय ४७ थान, २ सयका १२ थान, १ सयका २ सय ९१ थान र ५० का २ थान गरी जम्मा २ लाख ८७ हजार १ सय भारतीय रुपैया (नेरु ४ लाख ५९ हजार ३ सय ६०) गरी कुल ४६ लाख ४४ हजार ३ सय ६० रुपैयाँ बरामद गरिएकाे खातीले बताए।
बरामद सबै रकम थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ। कारसँगै चालक भारत महाराजगन्ज नौतनवाका ३३ वर्षीय सोमई धवललाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ।
नियन्त्रणमा रहेका ४५ वर्षीय पौडेल भारतकाे मुम्बईमा कार्यरत छन्।
उनले यो रकम अन्य कामदारहरुको संकलन गरी बुझाइदिन ल्याएको बताए पनि क-कसको कति-कति रकम र कँहा-कँहा ठेगानामा पुर्याउनुपर्ने केही बताउन नसकेपछि सशस्त्र प्रहरीले जिल्ला प्रहरीमा पठाएको हो।
पौडेल गुल्मीका भए पनि हाल भने सैनामैनाको मुर्गियामा बस्ने गरेको बुझिएको छ। उक्त रकम उनले नौतनवाबाट ल्याएको शंका छ। पौडेल हुन्डीको कारोबार या अन्य कुनै अबैध आर्थिक गतिबिधीका पैसा बोकेर नेपाल ल्याएको हुन सक्ने समेत आशंका प्रहरीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।