काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले मुलकमा संघीयता कार्यान्वयन भएको एक वर्ष बितिसक्दा पनि जनतालाई गणतन्त्र र संघीयताको अनुभूति हुन नसकेको बताएका छन्।
उनले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार असफल भइसकेको बताउँदै भने, ‘कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास गर्दैनन्, त्यही भएर कम्युनिष्ट सरकार संघीयता र गणतन्त्रको सफल सञ्चालक हुन सक्दैन।’
नेपाली कांग्रेस जनकपुर नगर समितिले आइतबार आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै निधिले सरकार संघीयता र गणतन्त्र कमजोर बनाउन तर्फ उद्धृत रहेको बताउँदै भने, ‘१० वर्षे जनयुद्ध र विभिन्न आन्दोलनपछि स्थापना भएको गणतन्त्र र संघीयतालाई सुदृढ गर्न हालसम्म संरचना तयार गर्न नसक्नुले पनि सरकार असफल भइसकेको पुष्टि हुन्छ।’
पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका निधिले ओली सरकारले संविधानमा उल्लेख भएका अधिकारहरू पनि प्रदेश र स्थानीय सरकारलाई दिन नखोजेको बताउँदै भने, ‘प्रदेशले सरकार र प्रदेश सभाबाहेक अन्य कुनै कुरा पाउन सकेको छैन, प्रदेशहरूले आफ्नो प्रहरी संगठन बनाउन सकेको छैन्। आफ्नो निजामती कर्मचारीको कुनै पत्तो छैन। हतियार सहितको आफ्नै प्रहरी नरहेको सरकार नै हुन सक्दैन।’
निधिले प्रदेशहरूलाई कमजोर बनाउँदै संघीयता नै धरापमा पार्ने षडयन्त्र भइरहेको आरोप लगाए। उनले सरकारले न्यायापालिकालाई पनि आफ्नो प्रभाव र कब्जामा राख्न खोजेको आरोप लगाउँदै भने, ‘सरकार शक्ति पृथकीकरणको सिद्धान्त बिर्सेर शक्ति केन्द्रीकरणतर्फ लागेको छ।’
निधिले सर्वोच्च अदालतमात्र नभई देशभरका सबै अदालतका न्यायाधीशहरूलाई दुई तिहाइको दम्भ देखाउँदै महाअभियोगको त्रास देखाउने खेल भइरहेको दाबी गरे।
छिमेकी मुलुकहरुसँग सम्बन्ध खराब बनाएको सरकारले जनतालाई समृद्धि र विकासको झुटो आश्वासन बाँड्दै आइरहेको बताउँदै निधिले रोजगारीको नाउँमा कार्यकर्ता भर्ती केन्द्र खोल्न लागिएको आरोप लगाए।
निधिले यस सरकारले नागरिकको आधारभूत आवश्यक्ता शान्ति सुरक्षा समेत प्रदान गर्न असफल भएको बताउँदै उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्ने सरकारको गृहमन्त्रीको भनाइ लज्जास्पद रहेको बताए।
उसभापति निधिले सरकार गठन भएदेखि प्रदेश २ सरकारलाई आफ्नो पार्टीले सहयोग गर्दै आइरहे पनि जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले मधेशीको नाममा दल खोलेर सत्ता चढ्ने सिँढी मात्र बनाएको बताए।
उनले मधेशी जनताको भावनासँग खेलवाड नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराए।
निधिले प्रदेश सरकारलाई इंगित गर्दै भने, ‘एक वर्ष हामीले तपाईंहरूलाई सहयोग गर्यौँ। प्रहरी ऐन ल्याउन हाम्रो पार्टीले सहयोग गर्यो, तपाईहरू पनि संघीय सरकार झैं जर्बजस्ती काम नगर्नुस्।’
निधिले प्रदेश २ का लागि मिथिला–भोजपुराबाहेक अन्य नाम कांग्रेसलाई मान्य नहुने बताए। उनले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक भूमिसँग मिथिलाको इतिहास र पहिचान जोडिएकाले प्रदेशको नाम मिथिला–भोजपुरा हुनुपर्ने प्रस्ट पारे।
उनले देशभरि मै नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषा मैथिली भएको भन्दै प्रदेशको भाषा मैथिली हुनुपर्ने बताए। भने, ‘भोजपुरी लगायतका अरू भाषा पनि राख्न सकिन्छ। तर, पहिलो ग्राह्यता मैथिलीलाई दिनुपर्छ।’
निधिले प्रदेशको नाम मिथिला भोजपुरी र भाषा मैथिली राख्नका लागि दबाब दिन पार्टीका प्रदेशसभा सदस्यलाई आग्रह गरे। उनले नामकरण र भाषा टुंगो लगाउने क्रममा कुनै जालझेल वा षड्यन्त्र भए आन्दोलन गर्न समेत प्रदेशसभा सदस्यलाई निर्देशन दिए।
उनले वीरगन्ज स्थित बिपी उद्यानको जग्गा प्रदेश सरकारले पूर्ववत् बिपी उद्यानकै नाममा फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिए।
उनले संघ सरकार लोकतन्त्र र संघीयता विरोधी रहेको चर्चा गर्दै संघ र प्रदेश सरकारले एक वर्षमा गरेको जनविरोधी क्रियाकलाप र गर्नुपर्ने भए पनि नगरिएका विकास कार्यको सूची तयार पारेर वडावडा र टोलटोल गई जनतालाई बुझाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।