टी–२० विश्वकप छनोटअघि नेपालमा ओडिआई सिरिज हुने सम्भावना 

Nepal Live

फाइल तस्बिर


काठमाडौं– एकदिवसीय मान्यता प्राप्त गरेको एकवर्ष पूरा हुनै लाग्दा नेपालले अहिलेसम्म २ वटा मात्र सिरिज खेलेको छ। गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्स र युएईविरुद्ध उनीहरुकै भूमीमा सिरिज खेलेको थियो। 

नेपालको एकमात्र अन्तर्राष्ट्रिय मैदानको रुपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान एकदिवसीय खेल खेल्न योग्य छैन। जसका कारण नेपालले घरेलु दर्शकअघि खेल्ने मौका भने पाएको छैन।

यसै साता युएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेपछि अब नेपालले घरेलु मैदानमै सिरिज खेल्नु पर्ने विषयमा आवाज उठेका छन्। हुनत त्यसअघि नै आइसिसीले टियू मैदानको अवस्थाको बारेमा चासो दिएको थियो। फलस्वरुप अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफ्ना पिच कन्सल्ट्यान्ट एन्डी एटकिन्सनलाई युएईविरुद्धको सिरिज लगत्तै नेपाल पठाएको थियो। 

एन्डीले मंगलबार त्रिवि मैदानको निरिक्षण गरेका छन्। एन्डीसँगै नेपालका प्रमुख प्रशिक्षक जगत टमाटा पनि कीर्तिपुर पुगेका थिए। 'उहाँले पिच, आउटफिल्ड र अन्य भौतिक पूर्वाधार निरिक्षण गर्नु भएको छ,' टमाटाले नेपाल लाइभसँग भने,'अब उहाँले मैदानको रिपोर्ट आइसिसीलाई बुझाउनु हुनेछ। साकारात्मक सन्देश आउने विश्वास छ।' 

एन्डीले रिपोर्ट बुझाएपछि आइसिसीले त्रिवि मैदानलाई एकदिवसीय योग्य बनाउनका लागि गर्नु पर्ने कामबारे सुझाव दिनेछ। 

टमाटाका अनुसार पिचलाई थोरै सुधार गर्न र आउटफिल्डमा पानी हालेर हरियो बनाउन कुनै समस्या नभएको बताउछन्। साथै पेभिलियन र अन्य भौतिक पूर्वाधार पनि बनाउन समस्या नभएको टमाटाको तर्क छ। उनी भन्छन्,'प्लेयर बक्समा सुधार गर्न समस्या छैन। अन्य पूर्वाधार अस्थायी पनि बनाउन सकिन्छ।'

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाका अनुसार त्रिवि मैदानलाई एकदिवसीय खेल्य योग्य बनाउन कम्तिमा २ महिना लाग्नेछ। 'पिच र आउटफिल्डमा केहि सुधार गर्नु पर्ने देखिएको छ,' लामा भन्छन्,'त्रिवि मैदानमा पानीको समस्या छ। पानी पर्याप्त हुने हो भने २ महिनामा पिच र आउट फिल्ड बनाउन सकिन्छ। अरु काम आइसिसीको सुझाव पनि गर्ने कुरा हुन्।'  

त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले चासो देखाएको छ। त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनु पर्नेछ। भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नुछ। क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले बजेट छुट्याएर काम गरे मात्र मैदानले एकदिवसीय मान्यता पाउनेछ।

त्रिवि मैदानले मान्यता पाएको अवस्थामा नेपालमा एकदिवसीय खेल हुने सम्भावना छ। नेपालमै आएर सिरिज खेल्नका लागि यसअघि नेदरल्यान्ड्सले इच्छा देखाएको थियो। यस्तै स्कटल्यान्ड र आयरल्यान्ड पनि नेपालको घरेलु मैदानमा खेल्न सकारात्मक छन्। मैदानले एकदिवसीय मान्यता पाएपछि नेपालले आइसिसीमार्तफ एकदिवसीय खेल खेलाउनका लागि पत्राचार गर्नु पर्नेछ।  टमाटा भन्छन्,'मैदानले मान्यता पाएपछि हामीले एकदिवसीय खेल्नका लागि पहल गर्नु पर्नेछ। अनुमती पाए हामीले घरेलु मैदानमै एकदिवसीय खेल्न पाउछौं।' 

आइसिसीको सुझाव लगत्तै काम थालिएको खण्डमा आगामी वैशाखसम्म त्रिवि मैदान योग्य हुने लामा बताउँछन्। त्यसलै आगामी वैशाख वा जेठमा नेपालमा एकदिवसीय सिरिज हुने सम्भावना छ। यता आगामी मेको अन्त्यबाट एकदिवसीय विश्वकप हुँदैछ। त्यसलगत्तै एसिया क्षेत्रको टी–२० विश्वकप छनोट हुनेछ। त्यसैले नेपालले पहल गरेमा टी–२० विश्वकप छनोटअघि नै नेपालमै सिरिज हुने सम्भावना छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने