काठमाडौं- प्रधानमन्त्री केपी ओली जनवरी २२ देखि स्विटजरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको सम्मेलनमा त्यसतर्फ जाँदैछन्। यही विषयमा आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले जिज्ञासा राखे। यही सन्दर्भमा सांसद कृष्णभक्त पोखरेलले बैठकमा नेपालका तर्फबाट के कस्ता विषय प्रस्तुत हुन्छन् र त्यसबाट नेपालले के फाइदा लिन सक्छ भनी प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।
पोखरेलको प्रश्नमा प्रधानमन्त्रीको जवाफ-
जनवरी २२ देखि २५ सम्म स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा नेपालको सहभागिता हुँदैछ। जहाँ मेरो नेतृत्वमा नेपाल पहिलोपल्ट यस स्तरबाट सहभागी हुँदैछ।
डाभोसमा हुने विश्व आर्थिक मञ्चको फोरममा नेपालले पहिलो पटक निम्ता पाएको छ, यो हाम्रा निम्ति खुसीको कुरा हो। यसले के देखाउँछ भने, हामीले गरेको प्रगति, हामीले पाएको सफलता आदिपट्टि दुनियाँको चासो भएको मात्रै होइन यसमा प्रसन्नता देखिएको छ।
हामीले गरेको द्वन्द्व व्यवस्थापन, राजनीतिक र सामाजिक रुपान्तरण जस्ता कुराहरुलाई दुनियाँले अत्यन्तै सकारात्मक रुपमा लिएको छ। अब नेपाल सानो र पछौटे मुलुकमा रुपमा, कसैले वास्ता नगर्ने मुलुकमा रुपमा होइन। नेपाल पनि विश्व मानचित्रमा विभिन्न कोणबाट अब एउटा उल्लेख्य, सम्झनलायक देशका रुपमा उभिन थालेको छ। त्यसै कारण, अब नेपाल एउटा संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतान्त्रिक अभ्यासबाट स्थायित्व देश जसप्रति भरोसका साथअघि बढ्न सकिन्छ। त्यसकारण नेपालाई पनि बोलाउनु, नेपालसँग पनि छलफल गर्नु, नेपालका पनि कुरा बिचार सुन्नु आवश्यक छ भनेर दुनियाँका ध्यान आकर्षण भएको अर्थमा यसलाई बुझ्नु जरुरी छ।
यो मञ्च बिकास र लगानीजस्ता आर्थिक गतिविधिमा केन्द्रित हुँदै एउटा दुनियाँको अर्थतन्त्र, आर्थिक अवस्था, यसको ट्रेन्ड, राजनीति र अर्थतन्त्र आदि बिषयमा चिन्तन गर्ने र एउटा गम्भीर, उच्च स्तरीय, संवाद सञ्जालको थलो हो। र, यसमा पहिलो कार्यक्रम २२ जनवरीमा ‘स्ट्राटेजिक आउटलुक इन साउथ एसिया’ भन्ने थिममा मैले हाम्रो धारणा, नेपालको कस्तो धारणा हुनुपर्छ भन्ने कुरा राख्नेछु। अर्को सत्र जनवरी २३ मा छ।
पहिलोपल्ट नेपाल डभोसमा गएर इज्जत, प्रतिष्ठा बढाउने काम, नेपालका आवश्यकताहरु बताउने काम, नेपालको अवाश्यकता जाउने काम, नेपालप्रति आकर्षित गराउने काम र नेपालप्रतिको सहयोगात्मक भावना बढाउने काममा केन्द्रित हुनेछ। तर, तत्काल कुनै सम्झौता भइहाल्ने, त्यसको फल पाइहाल्ने फोरम होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।