काठमाडौं– सर्वोच्च अदालतको बागडोर सम्हालेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको सूक्ष्म निगरानी संयन्त्रको निर्णयबमोजिम विराटनगर उच्च अदालतका पाँच न्यायधीश बिहीबार न्याय परिषदमा तानिए। र त्यही दिननै बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका दुई अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री र नेपाल एयलाइन्सका कर्मचारी अमरमान डंगोललाई सोही अदालतले धरौटीमा छोड्न अस्वीकार गर्याे।
यी दुई घटनाक्रमले अब जिल्ला अदालत मोरङको थुनामा राख्ने आदेशलाई निस्तेज गराउन उच्च अदालतको इजलास मिलाउने चलखेल गरिरहेका अन्य अभियुक्तहरु भने धरौटीमा छुट्ने सम्भावना न्युन देखिएको छ।पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको मोरङको आदेशलाई उच्च अदालतका मुख्यन्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलाशलको निर्णयले उनीहरु तत्काल रिहा हुने अवस्था अन्त्य भएको छ।
खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको अवैध सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिर ल्याउन सघाउने गरेकोे आरोप छ। डङ्गोलले विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गर्ने गरेको प्रहरी अभियोगपत्रमा छ। जिल्ला अदालत मोरङले डङ्गोललाई गत विसं २०७५ जेठ ८ गते र खत्रीलाई जेठ २९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
किन तानिए पाँच न्यायधीश?
विराटनगर उच्च अदालतबाट बिहीबार काजमा तानिएका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी छन्। न्याय परिषद्को टोलीले गत साता विराटनगर अदालत निरीक्षणका क्रममा कैफियत पाएपछि उनीहरुलाई छानविनका लागि तानिएको हो।
छानबिन नसकिदासम्म उनीहरुलाई न्याय परिषदमै हाजिर गराइनेछ। सुन प्रकरणमा कानुनको बलजफ्ती गर्दै उन्मुक्ति दिएको गुनासो र उजूरी प्राप्त भएपछि परिषद्को सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशले पाँच न्यायाधीशलाई परिषदमा हाजिर गराउने निर्णय लिएका हुन्। यद्यपी यो विषयमा परिषद्का अन्य पदाधिकारीबीच छलफल भने नभएको बताइएको छ।
इजलाश सपिङमा अन्य अभियुक्त
उच्च अदातलमा करिव २० अभियुक्तले जिल्ला अदालतको आदेश विरुद्ध निवेदन दिएका थिए। सुनको मूख्य मालिकको आरोप लागेका भुजुङ गुरुङसहितका १४ प्रतिवादीहरु अहिले पनि विराटनगर उच्च अदालतमा आफू अनुकुल हुने इजलास खोज्नमै व्यस्त छन्। धरौटीमा सहज छुटाउन सक्ने न्यायाधीशको इजलाश खोज्दै उनीहरुले पाँच महिनादेखि मुद्दाको पेशी सर्दै आएका छन्।
सुन तस्करीमा मुख्य आरोपिहरु भुजुङ गुरुङ, दोदाराम खत्रीदेखि डेविट भन्ने छिरिङ वाग्ले घलेलगायतले सामान्य धरौटीमा छुट्नका लागि चलखेल गर्न पेशी सार्दै आएका छन्। सुन मालिकको रुपमा चिनिएका गुरुङले १६ पटक आफ्ना कानुन व्यवसायीलाई प्रयोग गरेर मुद्दाको पेशी सारेका छन्।
उनको मुद्दा ३१ वटा इजलाशमा पेशी परेको छ। ६२ न्यायाधीशको इजलाशमा उक्त मुद्दाको पेशी भएपनि सुनुवाई हुन सकेको छैन। विहिबार पनि गुरुङको मुद्दा पहिलो नम्वरमै पेशी थियो। उनले उन्मुक्ती पाउने इजलाश गठन नभएको संकेत पाए लगत्तै आफ्ना कानुन व्यवसायीलाई प्रयोग गदै स्थगित गराए।
सर्वोच्चमा धाउँदै नौ आरोपित
३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका नौ आरोपितहरु धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा लडिरहेका छन्। जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध सर्वोच्चमा दायर गरेको निवेदनमा उनीहरु चलखेल गर्ने प्रयासमा छन्। मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका थिए। डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला र महावीरप्रसाद गोल्यानको मुद्दा उक्तमा पहिलो सुनुवाई हुदै फाइल मगाउने आदेशसमेत भएको छ।
मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सात आरोपितले सर्वोच्चमा निवेदन दिएका थिए। सरकारी पक्षले पनि दुई जनाविरुद्ध निवेदन दर्ता गराएको छ। उनीहरुको निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ।
दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितले अघिल्ला प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए। उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेशी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेशी तोकिँदै आएको थियो।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल सुन तस्करीमार्फत नेपाल भित्र्याएको निष्कर्ष निकालेको थियो।यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरीसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।
को को छुटे?
जिल्ला अदालतले उपस्थित सवै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसलाई चुनौती दिदै उच्च अदालत पुगेका मध्ये प्रहरी उच्च अधिकारी, सुन तस्करीमा मालिक भएको आरोप लागेका व्यापारीहरु धरौटीमा छुटेका छन्। मंसिर २७ गते मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दार उच्च अदालत विराटनगरको आदेशबाट जनही १० लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीहरुलाई उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले धरौटीमा छाडेको थियो। उच्च अदालत मोरङबाटै गत असोजमा एसपी विकासराज खनाल, एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।