काठमाडौं- कांग्रेस नेता डा मीनेन्द्र रिजालले जिपी कोइराला र सुशील कोइरालाको नाममा रहेका स्वास्थ्य संस्थालाई बिघटन उन्मुख बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेका छन्।
आज प्रतिनिधिसभा बैठकमा चलिरहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा रिजालको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ-
मैले यस सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीसँग दुईवटा कुरा गरेको थिएँ। एउटा सुशील कोइरालाको नामसँग जोडिएको संस्था अनेक विवादमा छ। त्यसको विवाद कसरी घटाउन सकिन्छ। यसमा निर्विवाद ढंगले छलफल गरौं भनेको थिएँ। र, अर्को जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास अस्पतालका सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीहरुलाई मैले भनेको थिएँ– चल्ने गरी र देखाउनेगरी फाइदा छैन। चलाउनलाई नेपाली कांग्रेसका नेताहरुले भन्नुभयो- भारतले बजेट दिन्छ। बजेट दिन्छ भने सरकारले प्रक्रिया अघि बढाउनुपर्यो। त्यसलाई बजेटको प्रक्रियामा कसरी लैजाने हो? यसबारे अलिक छलफल गरौं भनेको थिएँ मैले।
यसलाई मास्ने, समाप्त पार्ने, नाम मन नपरेको भन्ने जस्तोको सोचाइ आउँछ भन्ने मैले सोचेको थिइनँ। मैले हिजोसम्म यो नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु। नेपाली कांग्रेसका नेता बिजय गच्छदारसँग पनि हिजो साँझ यसबारेमा छलफल भएको थियो।
जमिन मात्रै यथावत राखेर हुन्छ? त्यहाँ अस्पताल बनाउने होला नि? मैले अस्पताल बनाउने प्रक्रिया अघि बढाउन भन्छु, उहाँहरु जग्गा यथावत राख्नुपर्छ भन्नुहुन्छ।
मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शुसील कोइरालाको नाममा रहेका दुई अस्पताललाई बन्द गर्ने प्रक्रियामा लगेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार सम्मेलन नै गरेर सरकारको निर्णय विरोध गरेका थिए । तनहुँको बेलचौतारामा गिरिजाप्रसाद कोइरालाको नाममा श्वासप्रश्वास अस्पताल सञ्चालित छ भने बाँकेमा शुसील कोइरालाको नाममा क्यान्सर अस्पताल निर्माणधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।