काठमाडाैं- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका केही विद्यार्थी नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलका कारण नेविसंघमा समस्या आएको भन्दै उनलाई सम्झाउन आग्रह गरेका छन्।
विद्यार्थीहरुको एक टोलीले वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलाई सामूहिक भेट गरेका थिए। संघका काठमाडौं जिल्ला सभापति मनोज वैद्यले पौडेललाई भने, ‘तपाईंको घरबाट नेविसंघ अर्को ढंगले चलेको छ। तपाईंको छोराले पनि म्यानिपुलेसन गरिरहनुभएको छ। तपाईंले सम्झाउनु पर्यो’
प्रतिउत्तरमा पौडेलले भने, ‘यहाँको राजनीति त्यसलाई थाहै छैन।’ पौडेलले प्रतिउत्तर दिएपछि पनि वैद्य रोकिएनन्। उनले थपे, ‘नेविसंघको लागि चिन्तन पौडेललाई नै भेट्न भन्नुहुन्छ भने चिन्तन पौडेललाई नै भेट्छौं। तपाईंलाई भेट्दैनौं। होइन भने तपाईंले स्पष्टसँग सम्झाउनुपर्यो।’
वैद्यको बोलीमा अन्य उपस्थितले पनि होमा हो मिलाए। अरु विद्यार्थीको हौसला पाएपछि नेता वैद्यले थपे, ‘केन्द्रीय समितिको बैठकबाट नेविसंघको म्याद थपियो भने यी विद्यार्थीहरु तपाईंको साथमा रहन्छन् भन्ने नसोच्नुहोला।'
विद्यार्थी नेताहरुले अर्का नेता केसीको बोली सुन्न चाहेपछि केसीले विद्यार्थीको बोलीमा समर्थन जनाए। कांग्रेस केन्द्रीय समितिको बैठकमा नेविसंघकाे म्याद थप गर्ने सम्बन्धमा 'नोट अफ डिसेन्ट' लेखेको स्मरण गराए। उनले 'अर्को कार्यसमिति झन् कामै नलाग्ने व्यक्तिहरु ल्याएर मनपरी गर्ने डर पनि रहेको' आशंका व्यक्त गरे।
‘मनोनित प्रक्रियाले झनै पोलाराइजेसन हुन्छ कि भन्ने चिन्ता छ। अर्को चिन्ता वर्तमान कार्यसमिति कामै नलाग्ने छ। निजी स्कुलहरु यति आतंकित छन्। पैसा बटुल्ने सिवाय केही गरेको छैन’, उनले भने, ‘तपाईंहरुसँग भन्दा बढी लिस्ट मसँग छ।’
उनले नेविसंघले 'चन्दा' मागेको होइन भन्दै व्यक्तिलाई दोष लगाएर बच्नुपरेको पिडा पोखे। विद्यार्थीहरुलाई सम्झाउँदै उनले भने, ‘सबै कुरा सिद्धिन लागेपनि केही बच्छ कि भन्नुपर्ने छ।’
बहुमत आफूहरुसँग नभएको जनाउँदै केसीले पदाधिकारी देखि सबै चयन एकतर्फी हुने गरेको पार्टी भित्रको विडम्वना सुनाए। केसीले भने, ‘हामीले गर्न खोज्दाखोज्दै पनि हुन सकेन भने चित्त दुखाउन पाइँदैन।’
विद्यार्थीहरुसँग भेटको अन्तिममा राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे कविताकाे पङ्ति सुनाउँदै बिट मारे।
‘बेला वसन्तको, पर्ख जिन्दगीको हटि पनि
सहुँ-सहुँ-सहुँ बाबु सहनै नसके पनि।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।