इटहरी– इटहरी उपमहानगरपालिका वडा नं ७ का लालचन सदा कुष्ठरोगका बिरामी हुन्। बजारक्षेत्रबाट केही मिनेटमा पुग्न सकिन्छ उनको गाउँ।
गाउँमा अहिले उनको फूर्तिफार्ती निकै बढेको छ। वरपर घुम्ने, हाँसेर बोल्ने, साथीभाइसँग ठट्टा गर्ने र रमाइलो गर्नमा लालचनको ध्यान जान थालेको छ।
केही समयअघि छाप्रो अगाडिको सडकमै बस्थे उनी। कुष्ठरोगले च्यापेपछि उनको हिँडडुल बन्द भएको थियो। उनी श्रीमती गीता ऋषदेवको बाटो हेरेर बसिरन्थे लालचन। गीता काम गरेर फर्किएपछी मात्र उनी छाप्रोभित्र छिर्थे।
अहिले पनि उनको हिँडाइ परिपक्व छैन। तर, गाउँघरमा उनी निकै व्यस्त झैं देखिन्छन्। उनकी श्रीमती साइडमा काम गर्छिन्।
नियमित औषधि सेवन गर्नुपर्ने भएकोले उनी काममा जान सक्दैनन्। तर, अनुहारमा झल्किएको खुसीले उनी पनि रोगबाट ग्रस्त छन् भन्ने भान हुँदैन।
केही समयअघी नेपाल लाइभले 'घुर्की गाउँस्थित एक परिवारको दारुण चित्र : चाडपर्व आउँदा न काम पाइन्छ न खान' शीर्षकको समाचार प्रकाशन गरेको थियो।
लालचनको कथा प्रकाशित गरेसँगै उनमा खुसीको दियो बल्न थालेको हो। उनको कथा बाहिर आएको केही दिनमै लालचनलाई सहयोग गर्ने हातहरू देखापर्न थाले।
खर्चको अभावमा चाडपर्व मान्नै सकस भइरहेको अवस्थामा उनलाई खर्च लगायत खाद्यान्न व्यवस्था भयो।
सामान्य चित्राले बारेमो उनको छाप्रोमा न आगोको दियो बल्थ्यो न आशाको। तर, उनले नसोचेको भैदियो। उनले आउँदै गरेको तिहार पनि राम्ररी मनाए। गत पौष २८ गते एकैपटक उनको मनमा र घरमा बत्ती बल्न सुरु भयो। अर्थात सोही दिन उनी नयाँघर प्रवेश गरे।
कथा प्रकाशित भएसँगै केही सामाजिक अभियन्ताहरूले लालचनको घर निमार्ण गरीदिने प्रतिवद्धता जनाए। त्यसको अग्रणी भुमीकामा थिइन्, इटहरी जनता बहुमूखी क्याम्पसकी प्राध्यापक कृष्णकला राई। उनकै अगुवाइमा लालचनको घर निमार्ण सुरु भयो।
राईका अनुसार लालचननै उनको घर निमार्ण गर्ने मिस्त्री थिए। त्यस बखत पनि लालचनले आफू बिरामी भएको कुरा भनेका थिए। तर, नेपाल लाइभले प्रकाशन गरेको लालचनको कथा पढेपछि सहयोग अपरिहार्य लाग्यो उनलाई।
सुरुमा कसरी घर बनाउने भन्ने विषयमा खुलदुली भएको राई सुनाउँछिन्। तर, विस्तारै फेसबुकमार्फत सहयोगको अपिल गर्न थालेपछी सहयोग रकम जम्मा हुन सुरु भएको राई बताउँछिन्।
सोचे भन्दा धेरै दुःखित परिवार देखेर सहयोगमा ध्यान गएको उनको भनाइ छ।
घर निर्माण गर्नकै लागि उनले विद्यार्थीदेखि प्राध्यापकलाई समेत आर्थिक सहयोगका अपिल गरिन्।
विदेशमा रहने नेपालीहरूले उनको अभियानमा उतिकै सहयाग गरे। युएई सुनसरी समाजले ३० हजार, जापानबाट मिलन तामाङले १२ हजार, युएईबाट अदी राईले १० हजार, मलेसियाबाट बल बहादुर राईले ८ हजार, लगायत विभिन्न देशमा बस्ने नेपालीले लालचनको लागि सहयोग जुटाएको राई बताउँछिन्।
रु १ लाख ३४ हजार ५ सय लागतमा लालचनको घर निर्माण भयो। जेठानले दिएको ४ धुर जग्गामा बनेको उनको घर उनी अफूले पाएको पुनर्जन्मको कोसेली ठान्छन्।
नगद र जिन्सी सहयोगपछि केही रकम जम्मा भएको छ। सो रकमले न्यानो कपडा र सिरक डसना किन्ने उनको योजना छ।
सिमेन्टको चिसो भुँइमा सुत्न गाह्रो पर्ने भएकोले खाट किन्ने प्रबन्धमा लागेका छन् लालचन।
झट्ट हेर्दा ४० वर्षका झैं देखिने लालचन आफू भर्खर २५ वर्ष पुगेको बताउँछन्। तर, अहिले उनको मुहारमा नयाँ चमक देखा परेको छ।
पहिला हाँस्न र रुन पनि नसक्ने लालचनका जोडी अहिले नहाँसी बोल्न सक्दैनन्। घर त बन्यो, अब उनीहरूको चिन्ता छोराछोरीमाथि छ।
‘कसैको कृपाले छोराछोरीलाई राम्रो स्कलमा पढाउन पाए हुन्थ्यो’ भन्ने लागेको बताउँछन् लालचन।उनी भन्छन्, ‘भगवान्को कृपाले घर त पाएँ। अब छोराछोरीको लागि भगवानले आशिर्वाद देलान् की भनेर सोच्दैछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।